झापा (नेपाल): झापाको दमकमा तीनचक्के विद्युतीय गाडी ‘सिटीसफारी’ को ठक्करबाट एक बालिकाको मृत्यु भएको छ भने उनकी आमा घाइते भएकी छन्। हिजो दिउँसो १:४५ बजेको समयमा दमक १ बरगाछीस्थित भित्री पक्की सडकखण्डमा श्रीपाली टोलबाट बेलडाँगीतर्फ जाँदै गरेको सिटी सफारीले आमाछोरीलाई ठक्कर दिएको थियो। पैदलयात्री काठमांडू घर भई हाल दमकमा डेरा बस्ने २४ वर्षीया शर्मिला लिम्बू (मगर) र उनका छोरी २ वर्षीया आरुसी मगरलाई सिटीसफारीले ठक्कर दिएको हो। दुवैलाई उपचारको लागि दमकको लाइफलाइन अस्पताल दमक लगिएकोमा उपचारको क्रममा दिउँसो २ बजे आरुसी मगरको मृत्यु भएको हो। हात खुट्टामा सामान्य चोट लागेकी शर्मिला लिम्बूको उपचार भइरहेको छ। बालिकाको शव सो अस्पतालमा रहेको छ। नाम, थर, वतन नखुलेका सिटीसफारी चालक भागेकाले खोजतलास भइरहेको पुलिसले जनाएको छ। सिटीसफारी इलाका पुलिस कार्यालय दमकमा राखिएको जिल्ला ट्राफिक पुलिस कार्यालयले जनाएको छ। मृतक बालिकाका बाबु अजय मगर बारा जिल्ला ४० नम्बर गणमा कार्यरत सशस्त्र पुलिस जवान भएको जनाइएको छ।