चिनियाँ सहयोगमा जारी दैलेख पेट्रोल अन्वेषणमा ५८८ मिटर भित्रसम्म ड्रिलिङ पाइप

IMG-20240629-WA0010

झापा (नेपाल): दैलेख जिल्लाको को भैरवी गाउँपालिका वडा नं. १ जलजलेमा शुरु गरिएको पेट्रोलियम अन्वेषण कार्य अन्तर्गत ५ सय ८८ मिटर जमिन मुनि ड्रिलिङ पाइप पुर्‍याइएको छ। चिनियाँ प्राविधिक र चिनियाँ सहयोगमा जारी रहेको अन्वेषण कार्यमा पहिलो ५० मिटरको होलमा सबैभन्दा मोटो फलामको पाइप राखिएको छ। त्यसपछि अन्य साना साना पाइपहरू विस्तार गर्दै निरन्तर ड्रिलिङको काम शुरु गरिएको  छ। जमिन मुनि ३ सय मिटर पुगिसकेपछि साना साना ग्याँसका भण्डारणहरू हुनसक्ने भएपछि त्यस्ता भण्डारणबाट आउने ग्याँसको जोखिम न्युनीकरणका लागि अहिले होलभित्र छुट्टै पाइप जडान गरेर जोखिम व्यवस्थापनको काम पनि  सँगसँगै गरिएको छ। कहिले कडा चट्टानको समस्या हुनसक्छ, कहिले स–साना भण्डारणहरू भेटिन सक्ने सम्भावना हुनसक्छ सबै खाले समस्याहरूको समाधानको उपायहरूको व्यवस्थापन सँगै काम शुरु भइरहेको छ।

जमिन मुनिबाट प्राप्त भएको माटोको परीक्षण पनि अन्वेषण स्थलमै खटिएका चिनियाँ विशेषज्ञ प्राविधिहरुले गरिरहेका छन्। हरेक एक मिटर जमिन ड्रिलिङ गरेर प्राप्त भएको चट्टानका टुक्राहरू तत्कालै परीक्षण गर्दै प्राप्त रिपोर्टलाई संकलन गरिएको छ भने प्राप्त टुक्राहरूलाई पनि संकलन गरिएको छ। आगामी दिनमा यसले नमुनाको रूपमा अन्य अन्वेषणका लागि पनि सहयोग पुग्ने भएकोले राखिएको खानी तथा भूगर्भ विभागका वरिष्ठ भूगर्भविद् गणेशनाथ त्रिपाठीले जानकारी दिए। रातदिन काम गरेर कुनै समस्या नआएको खण्डमा ४ महिनामा अन्तिम रिपोर्ट आउन सक्ने चिनियाँ प्राविधिहरुले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement