१३ अगस्तः फ्रान्सका गोताखोर (डाइवर) अरनाउड जेराल्डले डीप डाइविंगको विश्व रेकर्ड तोड़ेर नयाँ रेकर्ड आफ्नो नाम गरेका छन्। उनले अहिलेसम्मको सबैभन्दा गहिरो डाइव लगाएका छन्। उनी डाइव लगाएर समुद्रमा १२० मीटर, अर्थात लगभग ३९३ फीट मुनि गए। यो डाइव पूरा गर्न उनलाई केवल ३ मिनट ३४ सेकेण्ड समय लाग्यो। चाखलाग्दो कुरा के छ भने, उनले यो डाइव कुनै अक्सीजन सिलेण्डरको सहयोग बिना नै लगाए। साधारणत डाइवरहरूले पानीमा अधिक गहिराईसम्म जाँदा अक्सीजन सिलेण्डरको प्रयोग गर्छन्। बीबीसी-को रिपोर्ट अनुसार, अरनाउड जेराल्डले यो रेकर्ड ८ अगस्तको दिन बहमासमा भएको एनुअल भर्टिकल ब्लू कम्पीटिशनमा बनाए। उनी पानी भित्र ३ मिनट ३४ सेकेण्डसम्म रहे। जेराल्डले सातौंपल्ट विश्व रेकर्ड तोड़ेका छन्।

जेराल्डले भने, डीप डाइविंगको अनुभव असाधारण रह्यो। मलाई त विश्वास नै लागेको छैन। कुनै रेकर्डलाई तोड़ेर नयाँ रेकर्ड बनाउने अनुभव सदा खास हुन्छ। म खुशी छु कारण मैले यसको निम्ति कठोर मेहनत गरेको थिएँ। लगातार अभ्यासले गर्दा नै मैले आज सफलता हासिल गरे। अरनाउड जेराल्डको एउटा वेबसाइट छ। त्यसमा प्रकाशित रिपोर्ट अनुसार, उनले सानो उमेरदेखि नै डाइविंगको अभ्यास शुरु गरेका थिए। जेराल्डले केवल १६ सालको उमेरमा फ्री डाइविंगको ट्रेनिंग समाप्त गरेका थिए। त्यसपछि उनले ३० मीटरको गहिराईसम्म डाइव लगाएका थिए।

जेराल्डले २०१७-मा आफ्नो पढ़ाई पूरा गरेपछि फ्री डाइविंगको प्रतियोगिताहरूमा हिस्सा लिन शुरु गरेका थिए। साल २०१९-मा जेराल्डले १०८ मीटर गहिरो डाइव लगाएर पहिलोपल्ट विश्व रेकर्ड बनाएका थिए। त्यसपछि उनले २०२०-मा ११२ मीटर गहिरो डाइव लगाएर आफ्नै पुरानो विश्व रेकर्डलाई तोड़ेका थिए।