७.२ म्याग्नेच्युडको शक्तिशाली भूकम्पले थर्कियो पेरु

Earthquake-copy-2

दक्षिणी पेरुको तटमा ७.२ म्याग्नेच्युडको शक्तिशाली भूकम्प गएको छ। संयुक्त राज्य भूगर्भ सर्वेक्षण (युएएसजीसी) का अनुसार भूकम्पको केन्द्र २८ किलोमिटर गहिराइमा थियो। राजधानी लिमाबाट करिब ६०० किलोमिटर दक्षिणमा रहेको एटिक्विपाबाट ८ किलोमिटर पश्चिममा केन्द्र भएर भूकम्प गएको छ। एटिक्विपाका केही बासिन्दाहरूले सोशल मिडियामा भनेअनुसार उनीहरूले धेरै शक्तिशाली र लामो भूकम्पको धक्का महसुस गरे जसले गर्दा उनीहरूको ओछ्यान हल्लियो। नजिकैको शहर काराभेलीबाट सार्वजनिक सीसीटीभी फुटेजमा आवासीय सडक देखिन्छ जसमा भूकम्पले डरै लाग्दोगरि हल्लाएपछि मानिसहरू घरबाट बाहिर निस्कन्छन्। भूकम्पको धक्का राजधानीसम्म महसुस गरिएको थियो। सामाजिक सञ्जालमा पोष्ट गरिएको भिडियोले लिमाका घरहरूमा बत्ती बलिरहेको देखाउँछ। प्यासिफिक सुनामी चेतावनी केन्द्रले सुरुमा पेरुका केही तटीय क्षेत्रहरूमा १ देखि ३ मिटरसम्म अग्ला सम्भावित सुनामी छालहरूको अलर्ट जारी गरेको थियो। तर यसले सुनामी चेतावनी सल्लाह वा खतरा नभएको भन्दै अलर्टलाई पछि हटायो। ‘यस भूकम्पबाट सुनामीको खतरा छैन’, पीटीडब्लुसीले भन्यो। पेरुभियन राष्ट्रपतिको कार्यालयले सामाजिक संजाल एक्समा सरकारले स्थितिको अनुगमन गरिरहेको र कुनै पनि सम्भावित क्षतिको मूल्यांकन गरिरहेको बताएको छ। पेरु र धेरैजसो दक्षिण अमेरिकी प्रशान्त तट दुई टेक्टोनिक प्लेटहरूको सिमानामा छन्। दक्षिण अमेरिकी प्लेटमा अधिकांश महाद्वीप समावेश छ र नाज्का प्लेट धेरैजसो प्रशान्त महासागरमा फैलिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement