नेपाली जुडो खेलाडी मनीताले पेरिस ओलम्पिक खेल्ने

IMG-20240628-WA0079

 झापा: नेपाली जुडो खेलाडी मनीता श्रेष्ठ प्रधानले पेरिस ओलम्पिक–२०२४ खेल्ने  भएकी छिन्। आगामी जुलाई २६देखि अगस्त १ सम्म हुने पेरिस ओलम्पिकमा सहभागी हुन मनीताले वाइल्ड कार्ड प्राप्त गर्नु भएको नेपाल ओलम्पिक कमिटीका कार्यकारी सचिव सुजनलाल श्रेष्ठले जानकारी दिए। मनीताले महिला ५७ किलोग्राममुनि तौल समूहमा नेपालको चुनौती प्रस्तुत गर्नेछिन्। दक्षिण एसियाली खेलकुद (साग) को १२औँ र १३औँ संस्करणकी रजत विजेता २५ वर्षीया मनीताले ९ वर्षको उमेरदेखि जुडो खेलेकि हुन्। उनको पहिलो प्रतियोगिता सन् २०११ मा काठमाडौंको धापासीमा भएको त्रियोग जुडो च्याम्पियनसिप थियो। त्यसमा मनीताले स्वर्ण जितेकी थिइन्। मनीता ओलम्पिक छात्रवृत्ति प्राप्त खेलाडी हुन्। मनीताले किर्गिस्तानमा भएको जुनियर एसियाली जुडोमा काँस्य, थाइल्याण्ड विश्वविद्यालय जुडोमा स्वर्ण, दक्षिण एसियाली जुडो च्याम्पियनसिपमा रजत लगायत अन्तर्राष्ट्रिय पदक जितेकी थिइन्। मनीतासँग एसियाली खेलकुदको १८औँ १९औँ संस्करण खेलेको अनुभव छ।

पेरिस ओलम्पिककै लागि मनीताले जापान, चाइनिज ताइपेइ, हङकङ र किर्गिस्तानमा छनोट प्रतियोगिता खेलेकि थिइन्। उनी राष्ट्रिय खेलकुद परिषद्ले सञ्चालन गरिरहेको मिसन २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारी विशेष प्रशिक्षणमा रहेकी छिन्। काठमाडौंको एकलटारस्थित रानीवनमा रहेको बन्दी सहायता नियोग (पाम) बाट जुडो खेल्न शुरु गरेकी मनीता विगत पाँच वर्षदेखि नेपाल पुलिसमा आबद्ध छिन्। उनका शुरुआती गुरु टोकियो ओलम्पिक–२०२० मा प्रशिक्षकको भूमिका निर्वाह गरेका सूर्यनारायण श्रेष्ठ हुन। पाममा हाल २८ जना आश्रित छन् र सबै जुडो खेल्छन्। ओलम्पिकमा सहभागी हुने मनीता छैटौँ नेपाली जुडो खेलाडी हुन्। यसअघि १९८८ को सिओल ओलम्पिकमा गङ्गाबहादुर डङ्गोल र ऋषिराम प्रधान, २००८ को बेइजिङ ओलम्पिकमा देबु थापा, २०१६ को रियो ओलम्पिकमा फुपु ल्हामु खत्री, २०२० को टोकियो ओलम्पिकमा सोनिया भट्टले नेपालको प्रतिनिधित्व गरेका थिए। मनीताले छनोट भएकामा आश्चर्य र खुशी लागेको प्रतिक्रिया दिँदै पेरिस ओलम्पिकमा अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन गर्ने बताउँछन्। ‘शुरुमा मलाई ओलम्पिक कमिटीबाट पेरिस ओलम्पिकका लागि छनोट भएको खबर आएको थियो, पत्याउनै गाह्रो भयो। त्यसपछि सूर्य गुरुको फोन आयो, अनि मात्र विश्वस्त भए। ओलम्पिक जस्तो ठूलो खेलकुदमा छनोट भएकोमा आश्चर्य र खुसी लागेको छ’, मनीताले भनिन्, ‘पेरिस ओलम्पिकमा अहिलेसम्मकै उत्कृष्ट दिने प्रयास गर्नेछु।‘ पेरिस ओलम्पिकमा हालसम्म नेपालबाट सहभागी हुने खेलाडीको संख्या  सात पुगेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement