झापा:: सुनसरी दुहबीकका पत्रकार अकबर अलि र प्रेम प्रसाद गिरीलाई समाचार लेखेको विषयलाई लिएर दुहबी वार्ड नम्बर ६ स्थित संचालनमा रहेका जय माँ वैष्णो मसाला उद्योगका संचालक सुरेन्द्र पौदारले सरकारी कार्यालय भित्रै ज्यान मार्ने धम्की दिएका छन्। कोचिला खबरका पत्रकार/प्रकाशक अकबर अलि र कार्यकारी सम्पादक प्रेम प्रसाद गिरि सूचनाको विषयमा कुराकानी गर्न दुहबी वार्ड नम्बर ६ को कार्यालयमा पुग्दा उद्योगका संचालक सुरेन्द्र पौदारले मेरो उद्योग सम्बन्धी किन समाचार लेखेको भन्दै पत्रकार अलि र गिरि समेतलाई गाली गलौज गर्दै सिध्याइ दिने (ज्यान मार्ने) धम्की दिएको पत्रकार अलिले बताए। गत १४ जूनको अंक कोचिला खबर पत्रिकामा ‘दुहबीमा १२ वर्षदेखि गैर कानुनी तथा मानव स्वास्थमा खेलवाड गर्दै खाद्यान्न विभागको अनुमती बिना घरमै उद्योग संचालन गरेको’ शीर्षकमा समाचार प्रकाशित भएको थियो। समाचार प्रकाशित भएपछि पौदारले वार्ड नम्बर ६ को सरकारी कार्यालय भित्रै आफूले जे पनि गर्न सक्ने भन्दै ज्यान मार्ने र सिध्याई दिनेसम्मको धम्की दिएको अलिले बताए ।पत्रकार र मिडियालाई हतोत्साहित गर्न डर र धम्की देखाउने कार्यको घोर भर्त्सना गर्दै अभद्र व्यवहार गर्ने पौदार माथि कानुनी कारबाहीको माग समेत गरेको छ । यता ज्यान मार्ने धम्कि दिने विरुद्ध कार्वाहीको माग सहित इलाका पुलिस कार्यालय दुहबीमा उजुरी दिएको पत्रकार गिरिले बताए। ‘पत्रकारले लेखेको समाचार माथि चित्त नबुझे कानुनी उपचारमा जाने मार्ग र निकाय हुँदाहुँदै पत्रकारलाई स्वतन्त्र रूपमा काम गर्ने मार्गमा हतोत्साहित गर्ने, डर देखाउने, धम्की दिने जस्ता कार्य प्रेस स्वतन्त्रता माथिको प्रहार सरासर गलत हो। सम्बन्धित निकायले यस्तो घटनालाई तुरुन्त छानबिन गरि दोषीलाई कानुनी कठघरामा उभ्याएर हदैंसम्मको कारबाही गरियोस्।