झापा: संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वीकृत दरबन्दी भन्दा बढी संख्या भएको भन्दै एकवर्षदेखि तलब नपठाएपछि मोरङको ग्रामथान गाउँपालिकामा १८ कर्मचारी तलबविहीन बनेका छन्। ग्रामथान गाउँपालिकामा स्वास्थ्य सेवातर्फका १८ जना कर्मचारीले तलब नपाएका हुन्। ग्रामथान गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरि प्रसाद भट्टराईका अनुसार दरबन्दी भन्दा बढी संख्यामा रहेका कर्मचारीको तलब नआएको एक वर्ष भइसकेको छ। स्वास्थ्य विभागले गाउँपालिकामा दरबन्दी भन्दा बढी रहेका १८ कर्मचारीको तलव निकासा नगरेको हो। मन्त्रालयसँग यस विषयमा कुरा गर्दा जुन २८ भित्र तलब पठाउने आश्वासन पाएको प्रशासकिय अधिकृत भट्टराईले बताए। दरबन्दी भन्दा बढि कर्मचारी राख्न नमिल्ने भन्दै स्वास्थ्य मन्त्रालयले समेत बारम्बार परिपत्र गर्दै आएको छ। तर, कर्मचारी समायोजन भएको बेला स्वीकृत दरबन्दी संख्या भन्दा बढी कर्मचारी थपिएको उनको भनाइ छ। प्रकृति हेर्दा दरबन्दी भन्दा बढी कर्मचारी देखियो, मन्त्रालयले स्वीकृत संख्या भन्दा बढीको तलव पठाउन मानिरहेको छैन। ग्रामथान गाउँपालिकाले समेत पाँच पटकभन्दा बढी तलबको लागि पत्र पठाइसकेको छ। पालिकाका ४२ जनाको स्वीकृत दरबन्दी छ।