झापा :झापाको दक्षिणपश्चिम पालिका गौरीगञ्ज वडा नम्बर १ मा बनियानी खोलाले बगाउँदा एक बालक बेपत्ता भएका छन्। वडा अध्यक्ष कात्तिकलाल राजवंशीका अनुसार बेपत्ता हुनेमा वडा नम्बर १ झोलुंगे टोलका वेद विकका १३ वर्षीय छोरा मिलन विक रहेका छन्। हिजो साँझ ६ बजेतिर साथीहरुसँग खोला तर्ने क्रममा ती बालकलाई खोलाले बगाएको स्थानीयले बताएका छन्। जनपद प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयको सहयोगमा खोलामा बालकको खोजी कार्य जारी रहेको छ। तर, हालसम्म नभेटिएको प्रहरीले जनाएको छ।