तारोबा (त्रिनिदाद): दक्षिण अफ्रिकाविरुद्ध आईसीसी टी२० विश्व कपको एकतर्फी सेमिफाइनलमा हारले अफगानिस्तानका कप्तान राशिद खान दुःखी र निराश छन् तर उनले यसलाई टीमको निम्ति केवल शुरुवात बताए। पहिला ब्याटिंग गर्दै केवल ५६ रनमा अलआउट भएपछि अफगानिस्तानले ९ विकेटले हारको सामना गर्नु पऱ्यो। राशिदले म्याचपछि भने, एउटा टीमको रूपमा हाम्रो निम्ति यो हार निराशाजनक रह्यो। आज टीमलाई परिस्थितिले साथ दिएन। पेशादार खेलाड़ीको रूपमा तपाईंले परिस्थितिहरू अनुसार आफूलाई तयार गर्नु पर्छ अनि टी२० क्रिकेटको यही विशेषता हो। टुर्नामेण्टबाट धेरै कुराहरू सिकेको बताउँदै राशिदले भने, यो त हाम्रो निम्ति केवल शुरुवात हो। हामी भित्र अहिले कुनै पनि टीमलाई पराजित गर्ने आत्मविश्वास छ। हामीले प्रक्रियामा ध्यान दिनु पर्नेछ। हामीले यहाँ धेरै कुराहरू सिक्ने मौका पायौं। राशिदले भने, यस टुर्नामेण्टबाट हामी आत्मविश्वास लिएर गइरहेका छौं। हामीसँग खेल कौशल छ तर यहाँ हामीले कठिन र दबाउको परिस्थितिमा खेल्न सिक्यौं। केही विभागमा सुधारको आवश्यकता छ। विशेषगरी मध्यक्रमको ब्याटिंगमा अनि हामी यसमाथि काम गर्नेछौं।