उदालगढी (असम): भारतीय गोर्खा परिसंघ (भागोप)को १२ सदस्यीय प्रतिनिधिमण्डलले आज असमका मुख्यमन्त्री डा. हिमन्त विश्व शर्मालाई छिटो र निष्पक्ष अनुसन्धान, अपराधीलाई मानसिक परामर्शका साथसाथै बलात्कारीलाई निर्णायक सजायको माग गरेको छ। पीडित बालिकालाई समर्थन गर्दै उमेर पुगे पश्चात सरकारी नोकरीको क्षतिपूर्तिको माग राखेका छन्। प्रतिनिधिमण्डलको नेतृत्व भारतीय गोर्खा महिला परिसंघ, आसाम राज्य समितिको अध्यक्षा श्रीमती लक्ष्मी सुवेदी र बीजीपी बोडोल्याण्ड टेरिटोरियल रिजन (बीटीआर) क्षेत्रीय कार्यकारी अध्यक्ष गंगा पौडेल, भागोप असम प्रदेशका प्रक्तन् अध्यक्ष पुस्पाधर सर्मा राष्ट्रिय पुरस्कार विजेता शिक्षिका तथा सल्लाहकार श्रीमती मुन्नी सापकोटा, श्रीमतीगौरी अधिकारी, असम प्रदेश भागोपका उपाध्यक्ष रोशन छेत्री र असम राज्य भागोपका सचिव खड्गप्रसाद शर्मा सहभागी बनेका थिए।
भारतको सर्वोच्च गोर्खा नागरिक समाज संगठन गोर्खा परिसंघले बोडोल्याण्ड प्रादेशिक क्षेत्र (बीटीआर) माजबाट पुलिस थानाअन्तर्गत धुनसिरीकी एक नाबालिग गोर्खा बालिकामाथि भएको गम्भीर शारीरिक अत्याचारको घटनाप्रति गहिरो चिन्ता र आक्रोश व्यक्त गर्दै मुख्यमन्त्रीलाई पत्र लेखेको छ। घटजा प्रवाहलाई नियालेर भन्ने हो भने नाबालिगलाई २०२४ जून २२ मा शनिबार अवैध आप्रवासीहरूको समूहले लिफ्ट दिने बहानामा ट्युसनबाट फर्किदै गर्दा नजिकैको इँटाभट्टामा लगेर सामुहिक बलात्कार गरेका थिए। सो घटनाबारे पीडित परिवारले दायर गरेको एफआईआर र सार्वजनिक डोमेनमा जारी अनुसन्धान रिपोर्टहरू अनुसार थाहा लागेको हो। प्रश्न चिन्ह त्यतिबेला ठडिन्छ जब एक बालिकाको क्रूर सामूहिक बलात्कार जस्तो कुकर्म हामो चेलीहरूमा हुन्छ त्यो पनि खुलेआम,जसले हाम्रो समुदायलाई मात्र स्तब्ध बनाएको छैन तर तत्काल कारबाही र न्यायको तत्काल आवश्यकतालाई पनि प्रकाश पारेको छ। बालिकाहरू विरुद्ध यस्ता जघन्य कार्यहरू असहनीय छन् र पीडितलाई न्याय सुनिश्चित गर्न र पुनरावृत्ति रोक्नको लागि द्रुत र कडा कदमहरूको माग गरेको छ।
यस पीडादायी अवस्थाको प्रकाशमा, गोर्खा परिसंघको प्रतिनिधिमण्डलले मजबाट राजस्व सर्कल, उदलगुरी बीटीआर असमका सर्कल अफिसर (सीओ) मार्फत पेश गरेको ज्ञापनपत्र मार्फत मुख्यमन्त्रीलाई निम्न कार्यहरू गर्न अनुरोध गरेको छ। गोर्खा परिसंघले घटनाको गहिरो अनुसन्धान गरी संलग्न सबै दोषीलाई तत्काल कारबाही गर्न माग गरेको छ। दोषीलाई छिटोभन्दा छिटो न्यायको कठघरामा ल्याई कानूनको पूर्ण दायरामा दुर्लभ जघन्य अपराधका लागि मृत्युदण्डको सजाय दिनु आवश्यक छ। बिहीबार पत्रकारहरूसँग कुरा गर्दै भागोपका आसाम प्रदेश अध्यक्ष अमर अधिकारीले भने, ‘हामी पीडितलाई शारीरिक र मनोवैज्ञानिक सुधारमा मद्दत गर्नको लागि व्यापक चिकित्सा उपचार र मानसिक परामर्श प्रदान गर्ने महत्त्वमा जोड दिन्छौं। यो अत्यावश्यक छ कि उनले यो दर्दनाक अवधिमा आवश्यक सहयोग र हेरचाह पाउनु पर्छ।’
भारतीय गोर्खा परिसंघ आसामका महासचिव नन्द किराती दिवानले गुवाहाटीमा सञ्चारकर्मीलाई जानकारी दिँदै भने, ‘भारतीय गोर्खा परिसंघले घटनास्थलबाट पेश गरेको ज्ञापनपत्रमार्फत राष्ट्रिय र प्रदेश भागोपले अनुमोदन गरी मुख्यमन्त्रीसँग आश्वासन मागेको हो। पीडितलाई उपयुक्त उमेर पुगेपछि क्षतिपूर्तिको आधारमा सरकारी जागिर उपलब्ध गराइनेछ। यो कामले उनको पुनसंस्थापको मात्र सहयोग गर्दैन तर उनको भविष्यको कल्याणको लागि सरकारको प्रतिबद्धताको प्रतीकको रूपमा पनि काम गर्दछ।’ ‘भविष्यमा यस्ता अत्याचार हुन नदिन कडा कदम चाल्न सरकारलाई आग्रह गर्दछौं। यसमा स्वच्छ सुरक्षा उपायहरू, सामुदायिक सचेतनता अभियानहरू, र बालिकाहरू र कमजोर व्यक्तिहरूका लागि सम्मान र सुरक्षा सम्वर्द्धन गर्ने शैक्षिक कार्यक्रमहरू समावेश छन्। हामी सरकारलाई सहयोगी वातावरण निर्माण गर्न र यस मामलामा पारदर्शी र समयमै न्याय सुनिश्चित गर्न गोर्खा समुदाय र अन्य सम्प्रदायहरूसँग संलग्न हुन प्रोत्साहन गर्छौं’, नन्द किराती देवानले जोड दिए।
राष्ट्रका गोर्खाहरू पीडितका लागि न्याय खोज्न र त्यस्ता जघन्य अपराधका दोषीहरूलाई जवाफदेही बनाउने सुनिश्चित गर्न एकजुट छन्। परिसंघले मुख्यमन्त्रीको नेतृत्व र विधिको शासन कायम राख्ने र विशेष गरी हामीमध्ये सबैभन्दा जोखिममा परेका प्रत्येक नागरिकको अधिकार र मर्यादाको रक्षा गर्ने प्रतिबद्धतामा विश्वास गरेको बताए। माजबाटमा सामुहिक बलात्कारको घटनामा छिटो न्याय र छिटो अनुसन्धानको माग बुधबार विभिन्न नागरिक समाज, विद्यार्थी, युवा र महिला संगठनले माजबाटमा बृहत विरोध प्रदर्शन गरेका छन्।