दार्जिलिङ: भारतकै एक उत्कृष्ट मिडिया संस्था जी इन्टर्टेन्मेन्टका एक सहायक न्यूज संस्था साथै पश्चिम बङ्गाल राज्यकै एक विशिष्ट संस्था जी बङ्गला २४ घण्टाद्वारा प्रदान गरिने शैक्षिक उत्कृष्टता पुरस्कार २०२४ दार्जिलिङ पहाडका साउथ फिल्ड कलेजले प्राप्त गरेका छन्। कलकत्ताको न्यू टाउनमा आयोजित एक भव्य कार्यक्रममा कलेजका प्राचार्य डा. अनुराधा राईले उक्त पुरस्कार ग्रहण गरिन्।

राज्यभरि नै शिक्षाको क्षेत्रमा उत्कृष्ट कदम उठाउने साथै शिक्षाकै माध्यम समाजमा आफ्नो दह्रिलो छाप छोड्न सफल शैक्षिक संस्थानहरूलाई वर्षेनी यो पुरस्कार जी बङ्ला २४ घण्टा शैक्षिक उत्कृष्टता पुरस्कार नामले दिइने गरिन्छ।

स्मरण गराइन्छ साउथ फिल्ड कलेजले गत वर्ष नोभेम्बरमा मात्रै राष्ट्रिय मूल्याङ्कन एवं प्रत्यायन परिषद (न्याक) बाट ग्रेड ‘ए’ कलेजको उपाधि पाएको छ अनि सम्पूर्ण उत्तर बङ्गालमा साउथफिल्ड कलेज ग्रेड ‘ए’ प्राप्त एक मात्र महिला कलेज बनेका छन्।