झापा (नेपाल): नेपालका राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहेका चीनका उपविदेशमन्त्री सुन वेइतोङले बुधबार २६ जूनमा राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गरेका छन्। सो भेटमा दुईपक्षीय हित, सहयोग र सम्बन्धका विविध पक्षमा कुरा भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाए। भेटमा राष्ट्रपति पौडेलले मित्रराष्ट्र चीन नेपालको प्रमुख एवं लामो समयदेखिको विकास साझेदार रहिआएको र यसले सधैँ नेपालको विकास प्रयासमा योगदान पुर्याएको बताएका छन्। उनले नेपाल सन् २०२६ सम्म अल्पविकसित देशको श्रेणीबाट स्तरोन्नति हुन गइरहेको सन्दर्भमा र त्यसपछि पनि चीनले थप सहयोग जारी राख्ने विश्वास व्यक्त गरेका थिए। उनले नेपाल र चीनबिच जनस्तरमा अत्यन्त सुमधुर सम्बन्ध रहिआएको उल्लेख गर्दै चिनियाँ तथा नेपाली भिक्षु, भृकुटी र कलाकार अरनिकोलगायतले दुई देशबिचको जनस्तरको सम्बन्ध र सांस्कृतिक आदानप्रदानलाई समृद्ध बनाउन ठुलो योगदान दिएको पनि बताए।
यसैबीच उपप्रधान एवं विदेशमन्त्री नारायणकाजी श्रेष्ठ र चीनका उपविदेशमन्त्री सुन वेइतोङबिच पनि शिष्टाचार भेटवार्ता भएको छ। जून २६ बुधबार सिंहदरबारस्थित मन्त्रालयमा उपप्रधानमन्त्री श्रेष्ठ र उपविदेशमन्त्री सुन वेइतोङबिच शिष्टाचार भएको हो। भेटमा दुई पक्षीय हित, सहयोग र सम्बन्धका विविध पक्षमा छलफल भएको छ। भेटका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले चीनले नेपालमा लामो समयदेखि विभिन्न क्षेत्रमा सहयोग गरिरहेको बताए। उनले नेपालको विकासका विभिन्न क्षेत्रमा सहयोग गरिरहेको र आगामी दिनमा पनि विकासमा निरन्तरता दिन आग्रह गरेका छन्। साथै नेपालसँगका विभिन्न सीमा नाकाहरु सुचारु गर्ने सम्बन्धमा पनि छलफल भएको बताइएको छ।