झापा (नेपाल): संयुक्त अरब एमिरेट्स युएईको आबुधावीमा सडक दुर्घटनामा परी रुपन्देहीका एक युवाको ज्यान गएको छl आबुधावीको बनियास चाईन क्याम्प नजिक सडकमा बसको ठक्करबाट रुपन्देही गजेडी १ का ३५ वर्षीय तारानाथ चापागाईं को ज्यान गएको हो। चापागाईं पछिल्लो साढे दुई वर्ष यता आबुधावीमा रहेको सल्भ क्लिनिङ एलएलसी कम्पनीको इतिहाद रेल क्षेत्रमा सरसफाइ कामदारको रुपमा कार्यरत थिए। सार्वजनिक विदाको दिन रविवार साथीभाइ बसेर रमाइलो गरेको र आफूहरु बसोबास गर्ने मजदुर क्याम्प फर्किनेबेला सडकमा बसले ठक्कर दिँदा चापगाईंको ज्यान गएको उनीसँगै काम गर्दै आएका सहकर्मीहरुले बताए।
सडक दुर्घटनामा परेर नेपालीको ज्यान गएको विषय कम्पनीले आबुधावीमा रहेको नेपाली दुतावासलाई समेत जानकारी गराइसकेको र शब नेपाल लैजान दुतावासले अनुमति प्रदान गरिसकेको दुतावासले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको स्थानीय प्रशासनलाई उद्दृत गर्दै दुतावासले उल्लेख गरेको छ। सो दुर्घटनामा परी अन्य नेपालीको हताहती भएकोबारे दुतावासलाई बुधबारसम्म अधिकारिक जानकारी नआएको युएईका लागि श्रम काउन्सिलर दिनबन्धु सुवेदीले बताए।