गोर्खा जाति र माटोको सुरक्षाको लागि हामी छैटौं अनुसूचीलाई अघि बढ़ाउँदैछौं: सुरज घिसिङ
खरसाङ: पहाड़मा छैटौं अनुसूचीको वकालत गर्दै र पहाड़मा छैटौं अनुसूचीको मांगमा गोर्खा हिल सिक्स सेड्युल मुभमेन्ट कमिटी अघि आएका छन्। पार्टीभन्दा जाति ठूलो, जातिभन्दा माटो ठूलो मन्त्रको साथमा युवाहरू छैटौं अनुसूचीको लागि काम गर्नलाई अघि आएका छन्। छैटौं अनुसूचीको मांगलाई अघि बढ़ाउन गोर्खा हिल सिक्स सेड्युल मुभमेन्ट कमिटीले आज खरसाङमा एक पत्रकार सम्मेलन बोलाएर यसको जानकारी गराएका छन्। उक्त पत्रकार सम्मेलनमा गोर्खा हिल सुक्स सेड्युल मुभमेन्ट कमिटीको तर्फबाट सुरज घिसिङ, सुरज छेत्री, बीके बाल्मिकी, सुनिल सुब्बा, दिपराज रसाईली, रोशन दियाली। बबिन घले, सुमन सुब्बा आदि उपस्थित भएर छैटौं अनुसूचीको मांगलाई लिएर काम गर्ने बताएका छन्। यस विषयमा पत्रकारहरूलाई सम्बोधन गर्दै गोर्खा हिल सुक्स सेड्युल मुभमेन्ट कमिटीको सदस्य सुरज घिसिङले हामी छैटौं अनुसूचीको मांगलाई लिएर अघि बढ्ने र यसको लागि पहाड़को सबै राजनैतिक दलहरू, सरकारी र गैर सरकारी संस्थाहरू सबैलाई हामीलाई समर्थन गरिदिने अपिल गरेका छन्। उनले अहिले हाम्रो जाति कतातिर भागिरहेकोले गोर्खा जाति र माटोको सुरक्षाको लागि हामी छैटौं अनुसूचीलाई अघि बढ़ाउँदैछौं भनी बताएका छन्। पत्रकारहरूले सोधेका प्रश्नको उत्तरमा सुरज घिसिङले भने, ‘२००७ देखि यता पहाड़ र जातिले न्याय पाउन सकेको छैन। किनभने २००५ मा छैटौं अनुसूचीको सम्झौता भए पनि गोर्खाल्याणडको लागि हामी सबैले यसको विरोध गरेका हौं। तर १७ वर्ष बितिसक्दा पनि गोर्खाल्याण्डको नाममा केही सिन्का समेत नभाँचिएको अनि हाम्रो जाति गोर्खा जातिको परम्परा र संस्कृति सबै बचाउन छैंटौं अनुसूचीको मांगलाई लिएर अघि आएका छौं।’
घिसिङले अघि भने, ‘अहिले पहाड़मा सम्पूर्ण राजनैतिक दलहरू मौन रहेका छन्। तर हामी जाति र माटोको उन्मुक्तिको लागि छैटौं अनुसूचितमार्फत् अघि बढ्न चाहान्छौं। यसको लागि गोर्खा हिल सिक्स सेड्युल मुभमेन्ट कमिटीमार्फत् काम गर्न चाहान्छौं अनि सम्पूर्ण माटो प्रेमी, जाति प्रेमी सबैलाई समर्थन गरिदिने अनुरोध गर्दछौं।’
सुरज घिसिङले अझ भने, ‘गोरामुमोले छैटौं अनुसूचीको मुद्दालाई पन्छाएर पीपीएसपट्टि लागेका छन्। तर पीपीएस के हो अहिलेसम्म स्पष्ट भएको छैन। पीपीएस भनेको गोर्खाल्याण्ड, छैटौं अनुसूची, युटी कि के हो अहिलेसम्म कसैलाई थाहा छैन। यहाँसम्म कि राज्य र केन्द्रलाई पनि थाहा छैन। त्यसैले छैटौं अनुसूचीको मांगलाई मासिएको देखेर नै हामी अघि आएका हौं।’ घिसिङले भने, भारतीय संविधान अनुसार छैटौं अनुसूचीमार्फत् नै अलग राज्य बनेको छ। पहाड़मा पनि छैटौं अनुसूचीको मांगलाई सक्रिय पार्न हामी गोर्खा हिल सिक्स सेड्युल मुभमेन्ट कमिटी अघि आएको र हामी दिल्ली गएर विभिन्न राजनीतिक दलहरूका नेतृत्वहरूलाई भेटेर कुरा राख्नेछौं।’