झापा (नेपाल): बाढी, पैह्रो र चट्याङ लागेर कोशी प्रदेशमा दुई दिनमा आठ जनाको मृत्यु भएको छ भने तीनजना बेपत्ता भएका छन्। कोशी प्रदेश पुलिस कार्यालय विराटनगरका अनुसार झापा र सुनसरीमा चट्याङ लागेर ३ जनाको मृत्यु भएको छ। बाढीका कारण मोरङमा तीन, झापामा एक जनाको मृत्यु भएको छ। बाढीमा परी मोरङमा तीन जना बेपत्ता छन्। पैह्रोका कारण ओखलढुंगामा एक जनाको मृत्यु भएको छ। पुलिसका अनुसार मोरङको रतुवामाई नगरपालिका– ५ का नुर महम्मदका २ वर्षीय छोरा मोहमद मुसाहा घर नजिकै पानी जमेको खाल्डोमा मृत भेटिएका छन्। बुधबार २६ जूनको बिहान घरबाट हराएका बालक खोजी गर्ने क्रममा जमेको पानीमा मृत भेटिएका हुन्।
बुधबार मोरङको रंगेलीमा रहेको घाँगी खोलामा आएको बाढीमा एक जना बेपत्ता भएका छन्। पुलिसका अनुसार रंगेली ५ का नागेन मण्डल बेपत्ता भएका हुन्। बुधबार बिहान नागेन तीन साथीसहित खोला तर्दै थिए। खोला तर्ने क्रममा उनलाई बगाएको मोरङ पुलिसले बताएको छ। मंगलबार २५ जूनमा मोरङको केराबारी गाउँपालिका– ४ स्थित गोगुने खोलामा आएको बाढीले बगाउँदा स्कुल जाँदै गरेका केराबारी– ४ का ११ वर्षीय श्याम राईको मृत्यु भएको थियो। साथीहरूसँग स्कूल जाने क्रममा गोगुने खोला तर्ने क्रममा बगेका उनको केही तल शव फेला परेको थियो। मंगलबार नै मोरङको सुन्दरहरैचा नगरपालिका– ५ स्थित बूढीखोलामा माछा मार्ने क्रममा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ। २ जना बेपत्ता छन्। मृतक र बेपत्ता एकै परिवारका हुन्।पुलिसका अनुसार माछा मार्ने क्रममा सुन्दरहरैचा– ५ की २२ वर्षीया प्रेमकला चौधरी, ६० वर्षीया असरादेवी चौधरी, ३० वर्षीया फूला चौधरी, २२ वर्षीया स्वस्तिका चौधरीलाई बूढीखोलामा आएको बाढीले बगाएको थियो।
बाढीमा बगेकी स्वस्तिकाको स्थानीयले उद्दार गरेका थिए। प्रेमकलाको शव खोला किनारमा फेला परेको थियो। असरादेवी चौधरी र फुला चौधरी बेपत्ता छन्। मंगलबार बेलुका फुलबासा खोलाले बगाउँदा मेचीनगर नगरपालिका– १४ झापाका बामरा सतारका डेढ वर्षीय छोरा रिहान सतारको मृत्यु भएको छ। घर नजिकै रहेको फुलवासा खोलामा खेल्ने क्रममा पानीमा डुबेर उनको मृत्यु भएको पुलिसले बताएको छ। मंगलबार नै चट्याङ लागेर झापाको कमल गाउँपालिका २ का ४६ वर्षीय राजन खड्काको मृत्यु भएको छ। त्यस्तै गौरादह ८ मा पनि चट्याङ लागेर ४२ वर्षीय विकास गिरीको मृत्यु भएको छ । उनीहरू दुवै खेतमा काम गर्दै थिए।
मंगलबार नै सुनसरीको रामधुनी नगरपालिका ४ का ३० वर्षीय उमेशकुमार चौधरीको पनि चट्याङ लागेर मृत्यु भएको छ। उनी पनि खेतमा काम गर्दै थिए। ओखलढुङ्गाको चिसंखुगढी गाउँपालिका– ५ थुम्की स्थितमा पैह्रोले घर पुरिंदा एक जना महिलाको मृत्यु भएको छ। बुधबार बिहान अविरल वर्षाको कारण स्थानीय बाबुराम खत्रीको ढुङ्गा माटोले बनेको १ तले घर र गोठ पैह्रोले पुरेको थियो। पैह्रोले घरभित्र बसेका ३९ वर्षीय बाबुराम खत्री, उनको ३५ वर्षीया श्रीमती देवकुमारी खत्री र १८ वर्षीया छोरी मेनुका खत्रीलाई पुरेको थियो। पुलिस र स्थानीयले बाबुराम खत्री र छोरी मेनुकालाई सकुशल उद्धार गरेका छन्। देवकुमारी खत्री मृत अवस्थामा फेला परेको पुलिसले बताएको छ।