गान्तोक: आधिकारिक भ्रमणमा दिल्ली गएका राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङ एक हप्तापछि राज्य फर्किएका छन्। राज्य फर्किने क्रममा आज उनलाई बागडुग्रा हवाइ अड्डामा सिलगढीका प्रोटोकल यूनिट र एसटीडीसीले स्वागत जनाए। दिल्ली भ्रमणको क्रममा उनले देशका प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, विदेशमन्त्री राजनाथ सिंह, नव निर्वाचित अध्यक्ष ओम विरला लगायत अन्य केन्द्रीय मन्त्रीहरूसँग भेट गर्दै राज्यको विभिन्न समस्याबारे जानकारी गराएका थिए। विशेष गरेर उनले प्रि बजेट सभामा वित्तमन्त्री निर्मला सितारमणसँग भेट गर्दै राज्यको निम्ति कुरा राखेका थिए। यसरी नै उनले प्रधानमन्त्री मोदीसँग राज्यको धेरै वर्षदेखि थाँतीमा रहेको माग जस्तै लिम्बू तामाङ समुदायलाई सिक्किम विधानसभामा सीट आरक्षण, छुटेका १२ जातिलाई जनजातिको मान्यता, १७औं कर्मापालाई सिक्किम ल्याउने लगायत प्रकृतिक प्रकोपद्वारा सिक्किममा भएको क्षतिबारे पनि जानकारी गराउँदै यसको निम्ति पहल गरिदिने अपील गरेका छन्।











