झापा: माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा बिहीबार बिहान प्रकाशन हुने भएको छ। आजै नतिजा सार्वजनिक गर्ने गरी राष्ट्रिय परीक्षा बोर्ड बैठक बसेको थियो। तर केही प्राविधिक तयारी नपुगेकाले भोलिमात्रै नतिजा सार्वजनिक गर्ने निर्णय भएको परीक्षा नियन्त्रक (कक्षा १०) नन्दलाल पौडेलले जानकारी दिए।
‘आजै नतिजा सार्वजनिक गर्ने गरी तयारी गरेका थियौं। अहिले पनि त्यस्कै डेमो गरिरहेका छौं। हस्ताक्षरसहित सबै प्रक्रया पूरा गर्दा रात पर्ने भयो’, पौडेलले भने, ‘भोलि बिहान ७ बजे फेरि बोर्ड बैठक बोलाएका छौं। त्यसपछि नतिजा सार्वजनिक गर्ने तयारी छ।’ १ मार्च देखि १२ सम्म भएको एसईई परीक्षामा देशभरका ५ लाख ४ हजार ४१४ विद्यार्थी सहभागी थिए। बोर्डले यस वर्षदेखि लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गर्नेछ। जसमा सैद्धान्तिक र आन्तरिकको मूल्याङ्कन फरक–फरक रूपमा गर्ने व्यवस्था छ।
विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्छ। ७५ अंकको सैद्धान्तिक परीक्षा हुने विषयमा न्यूनतम २६.२५ अंक ल्याउनुपर्छ। त्यसमा आन्तरिकतर्फ २५ पूर्णांकको परीक्षामा भने ४० प्रतिशत अर्थात १० अंक ल्याउनुपर्छ ।लेटर ग्रेडिङ निर्देशिकाअनुसार सैद्धान्तिक र आन्तरिकतर्फ प्राप्त अंकलाई ग्रेडमा रूपान्तरण गरिने छ।