खरसाङ: नेपाली साहित्यको वरिष्ठ साहित्यकार एंव इसाईहरूका महान अगुवा रेभरेन्ट डा. एडोन रोंगोंगको स्मृतिमा एक कार्यक्रम अायोजना गरिने भएको छ। डा. एडोन रोंगोंगको परिवार पक्षको आयोजनामा सिलगढीको शिवमन्दिर नजिक न्यु रंगियाको बैरातीसालस्थित ईण्डियन क्याम्पस क्रुसेड फर क्राईष्ट भवनमा आगामी २९ जूनको दिन सम्पन्न हुने भएको जानकारी प्राप्त भएको छ। उक्त स्मृति कार्यक्रममा डा. एडोन रोंगोंगको जीवनी अनि उनले विभिन्न क्षेत्रहरूमा दिएको योगदानको विषयमा चर्चा परिचर्चा गरिने साथै उनको विविध पक्षहरू विषयमा चर्चा परिचर्चा गरिने भएको छ। यस कार्यक्रममा डा. एडोन रोंगोंगको विभिन्न योगदानहरूलाई लिएर दुईवटा विमर्श कार्यक्रम हुने भएको छ। यसमा डा. एडोन रोंगोंगको साहित्यिक पक्ष र उनको योगदान विषयमा विभिन्न साहित्यिक व्यक्तिहरूलाई लिएर विमर्श गरिने भएको छ जसको लागि सहजकर्ताको रूपमा कवि एंव पत्रकार हनोक थापाले भूमिका निर्वाह गर्ने भएका छन् भने डा. एडोन रोंगोंगको सेवाकाई र ईसाईत्व विषयमा पनि विमर्श कार्यक्रम गरिने भएको छ जसको लागि पास्टर शरण शरदले भूमिका निर्वाह गर्ने भएको जानकारी प्राप्त भएको छ। डा. एडोन रोंगोंगको विभिन्न विषयहरू र पक्षहरूलाई लिएर आयोजना गरिने उक्त स्मृति कार्यक्रममा सबै सबैलाई उपस्थित भईदिने आह्वान् डा एडोन रोंगोंगको परिवार पक्षले गरेका छन्। डा एडोन रोंगोंगको जन्म १७ अप्रेल सन् १९४० मा भएको थियो भने उनको निधन गत १५ मई २०२४ को दिन भएको थियो। डा. एडोन रोंगोंगले नेपाली साहित्यमा धेरैवटा कृतिहरू दिएका छन् भने धेरैवटा पुस्तकहरू र पत्र पत्रिकाहरूको पनि सम्पादन गरिसकेका छन्। उनको कृतिहरूमा विपना हार (कथा संग्रह), हारभित्रको जीत (रूपान्तरित उपन्यास), साना ठूला ताराहरू (बाल कथा संग्रह), चोइटा (कथा संग्रह), नेपाली गीत माला (बाल कविता संग्रह), यत्न प्रयत्नहरू (लेख संग्रह), मायाका फूलहरू (बाल कथा संग्रह), एकान्तभित्रको स्वतन्त्रता (कथा संग्रह), रूख यो सड़कमास्तिरको (कविता संग्रह), वचनको साथमा हामी (नेपाली बाईबलको ऐतिहासिक झलक), सीमादेखि सीमासम्म (कविता संग्रह) आदि प्रकाशित छन्। उनले पारसमणि प्रधान स्मृति पुरस्कार, स्रष्टा पुरस्कार, पाद्री गङ्गाप्रसाद प्रधान स्मृति आध्यात्मिक साहित्य सम्मान लगायत थुप्रै सम्मानहरू प्राप्त गरेका छन्। डा. एडोन रोंगोंगको विषयमा प्रेरित ध्रुव शिष्यको प्रमुख संयोजकत्व र हनोक थापाको सम्पादनमा सम्मान परिवारको प्रकाशनमा अभिनन्दन ग्रन्थ ‘डा. एडोन रोंगोंग अभिनन्दन ग्रन्थ’ पनि प्रकाशित छन्।

उनले पाद्री गङ्गाप्रसाद प्रधानको योगदान विषयमा जागरूक गराउन विशेष योगदान दिएका थिए भने ‘अजम्बरी गङ्गाप्रसाद प्रधान स्रष्टाहरूको दृष्टिमा’ पुस्तकको सम्पादन पनि गरेका थिए भने सन् २००७ देखि २०१८ सम्म इसाई समाचार पत्रिका ‘विभावना’ को प्रधान सम्पादक र प्रकाशकको रूपमा कार्य गरिसकेका छन्।