अर्को वर्ष नेपालमा विद्युत् उत्पादन ४५ सय मेगावाट पुर्‍याउने लक्ष्य

IMG-20240626-WA0072

झापा (नेपाल): आगामी आर्थिक वर्षमा नेपालको कुल विद्युत उत्पादन ४५ सय मेगावाट पुर्‍याउने लक्ष्य राखिएको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले बताएका छन्। प्रतिनिधिसभामा सांसदहरूले मन्त्रालयका आगामी आर्थिक वर्षका लागि विनियोजन गरेको बजेटमाथि उठाएका प्रश्नको जवाफ दिँदै  मन्त्री बस्नेतले आगामी १२ वर्षमा विद्युत् उत्पादन क्षमता २८ हजार ५ सय मेगावाट पुर्‍याउने लक्ष्य राखिएको पनि जनाएl ‘सरकारले आगामी आर्थिक वर्षमा कुल विद्युत् उत्पादन ४५ सय मेगावाट पुर्‍याउने लक्ष्य राखेको छ,’ उनले भने। निजी क्षेत्रलाई विद्युत् व्यापारमा संलग्न गराउन सरकारले कानुनी व्यवस्था गरेको पनि उनले जनाए। ‘आगामी १२ वर्षमा कुल विद्युत् उत्पादन क्षमता २८ हजार ५०० मेगावाट पुर्‍याउने र त्यसअनुसारको प्रसारण र वितरण प्रणालीको क्षमता अभिवृद्धि गर्ने लक्ष्यसहितको ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना २०२३ कार्यान्वयनमा लगिएको छ,’ उनले भने।

उत्पादन, प्रसारण, निर्माण, वितरण प्रणालीमा सुधार र विस्तार, आन्तरिक खपत वृद्धि, बचत विद्युत् निर्यात व्यापारको एकीकृत रोडम्याप र कार्ययोजना नै हाम्रो ऊर्जा विकासको मार्गचित्र र कार्ययोजना रहेको मन्त्री बस्नेतले बताए। ‘त्यसका लागि आवश्यक थप संस्थागत र अन्य नीतिगत तथा कानुनी सुधारबारे पनि कार्ययोजना समावेश गरिएको छ,’ उनले भने, ‘त्यसअनुसार १० मेगावाटसम्मका आयोजनाले पीपीए गर्दा प्रक्रियामा रहनु नपर्ने र सीधै पीपीए गर्न सक्नेलगायत विषय छन्।’

ऊर्जा क्षेत्रमा सार्वजनिक–निजी क्षेत्र साझेदारीमा राज्यको नीतिको व्यवस्थित कार्यान्वयन भइरहेको मन्त्री बस्नेतको भनाइ छ। ‘निजी क्षेत्रको सहभागितालाई अझ बढाउनमा पनि थप ध्यान दिइएको छ।’ सोलारलगायत वायु ऊर्जामा पनि सरकारले काम गरिरहेको मन्त्री बस्नेतले बताए। उनले ८ सय मेगावाट सोलार उत्पादनका लागि पीपीएको काम गर्न लागिएको पनि जनाए

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement