बर्लिन: यूएफा यूरो कप २०२४ फूटबल टुर्नामेण्टको ग्रुप डी-बाट अष्ट्रिया र फ्रान्सले प्री-क्वार्टर फाइनलमा स्थान बनायो। मंगलवार राति खेलिएको म्याचमा अष्ट्रियाले रोमाञ्चक जीत हासिल गऱ्यो। यसरी शक्तिशाली फ्रान्स चाहिँ ड्र-मा रोकियो। अष्ट्रियाले उत्कृष्ट प्रदर्शनको क्रम जारी राख्दै नीदरल्याण्डलाई ३-२-ले पराजित गऱ्यो। गत म्याचमा पोल्याण्ड विरुद्ध जीतपछि अष्ट्रियाले डच टीम विरुद्ध पनि असाधारण प्रदर्शन गऱ्यो। ओलम्पियास्टेडियन बर्लिनमा ४७ प्रतिशत पोजेशनको साथ खेल्ने अष्ट्रियाले म्याचको शुरुमै बढ़त हासिल गऱ्यो। नीदरल्याण्डका डोनिल मालेनले छैटौं मिनटमा आत्मघाती गोल गरे। यसरी मध्यान्तरसम्म स्कोर १-०-ले अष्ट्रियाको पक्षमा रहेको थियो। मध्यान्तरपछि चाहिँ नीदरल्याण्डलाई कोडी गाक्पोले बराबरीमा पुऱ्याए। गाक्पोले ४७औं मिनटमा गोल गरे। त्यसपछि रोमानो शिमिडले ५९औं मिनटमा गोल गरी फेरि अष्ट्रियालाई बढ़त दिलाए तर स्टार स्ट्राईकर मेम्फिस डिपायले ७५औं मिनटमा नीदरल्याण्डलाई २-२-को बराबरीमा पुऱ्याए। अन्तमा मार्सेल साबित्जरले ८०औं मिनटमा दिलाएको गोलले अष्ट्रियाला्ई जीत दिलायो। यसै ग्रुपमा फ्रान्स र पोल्याण्डबीच खेलिएको म्याच चाहिँ १-१-ले ड्र रह्यो। सिग्नल इदुना पार्कमा खेलिएको म्याचको मध्यान्तरसम्म दुवै टीमले गोल गर्न सकेन। त्यसपछि नाकको चोट लिएर खेलिरहेका कीलियन एम्बाप्पेले ५६औं मिनटमा पेनल्टीबाट गोल गरी फ्रान्सलाई बढ़त दिलाए। त्यसपछि दिग्गज रोबर्ट लेवाण्डोस्कीले ७९औं मिनटमा पेनल्टीबाट गोल गरी पोल्याण्डलाई हार्नबाट बचाए। यी दुईवटा म्याचपछि ग्रुप डी-बाट अष्ट्रियाले ३ वटा म्याचमा ६ पोइण्ट्सको साथ शीर्षमा रहेर प्री-क्वार्टर फाइनलमा स्थान बनायो। यसरी फ्रान्स ५ पोइण्ट्सको साथ दोस्रो स्थानमा रह्यो। नीदरल्याण्ड्स ४ पोइण्ट्सको साथ तेस्रो स्थानमा रह्यो अनि डच टीमको भाग्य अब अन्य टीमहरूको प्रदर्शनमाथि निर्भर रहनेछ कारण ग्रुप चरणमा तेस्रो स्थानमा रहने ४ वटा सर्वश्रेष्ठ टीमलाई पनि प्री-क्वार्टर फाइनलमा स्थान प्राप्त हुन्छ।