अन्तत:राजनीतिबाट भाइचुङ भोटियाले लिए सन्यास

IMG-20240625-WA0254

गान्तोक: सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीका नेता भाइचुङ भोटियाले अन्तत: चुनावी राजनीतिबाट सन्यास लिएका छन्। उनले चुनावी राजनीति मेरो लागि होइन रहेछ भन्ने कुरा आफुले महसुस गरेको बताउॅंदै सबै प्रकारको चुनावी राजनीति छोडिरहेको घोषणा गरेका छन्।

भोटियाले आज एउटा प्रेस विज्ञप्ति जारी गरेर चुनावी राजनीति छोडिरहेको घोषणा गरेका छन्। भोटियाले मुख्यमन्त्री पीएस तामाङलाई २०२४ को विधानसभा चुनाउ जितेकोमा बधाई दिएका छन्। सिक्किमको जनताले एसकेएमलाई बलियो जनमत दिएको बताउॅंदै एसकेएम सरकारले आफ्ना वाचाहरू पूरा गर्दै सिक्किमलाई सबै क्षेत्रमा नयॉं उचाइमा पुऱ्याउने छ भनी उनले आशा व्यक्त गरेका छन्।

भोटियाले भनेका छन्, ‘२०२४ को चुनावी नतिजापछि मैले चुनावी राजनीति मेरो लागि होइन भन्ने महसुस गरेको छु। त्यसैले म सबै प्रकारको चुनावी राजनीति तत्काल प्रभावबाट त्याग गर्दैछु।’

भोटियाले उनको एकमात्र धोको भनेको खेलकुद र पर्यटनको विकासका लागि आफुसँग भएका राम्रा विचारहरूलाई कार्यान्वयन गर्न नपाउनु रहेको उल्लेख गरेका छन्। आफुले अवसर पाएको भए ती विचारहरूलाई राज्यको विकासमा इमान्दारिताका साथ योगदान पुर्याउने थिए भनी उनले जनाएका छन्।

उनले भगवान बुद्धको ‘व्यक्तिको उद्देश्य राम्रो हुनुपर्छ’ भन्ने भनाई साझा गर्दै दाबी गरेका छन्, ‘राजनीतिमा मेरो उद्देश्य राज्य र देश दुवैका लागि राम्रो काम गर्नु थियो।’

उनले आफुलाई समर्थन गर्ने सबैलाई धन्यवाद दिॅंदै जानीजानी अथवा अन्जानमा कसैलाई चोट पुऱ्याएको खण्डमा माफी पनि मागेका छन्। भोटियाले अब आत्मपरीक्षण गर्न थप समय लिने बताउॅंदै आफ्ना अन्य लक्ष्यहरूमा काम गर्ने र नयॉं उद्देश्य पत्तो लगाउने बताएका छन्।

उल्लेखनीय छ, भाइचुङ भोटिया हालैमा सम्पन्न भएको राज्य विधानसभा चुनाउमा एसडीएफ पार्टीको उम्मेदवारको रूपमा चुनाउ लडेका थिए, तर उनी चुनाउ हारे। उनले सिक्किममा ‘हाम्रो सिक्किम पार्टी’ नामक एउटा राजनीतिक पार्टी खोलेर सक्रिय राजनीतिमा प्रवेश गर्दै चुनाउ लडे, तर उनी पराजित भएका थिए। यस अघि पनि उनले पश्चिम बंगालमा तृणमूल कांग्रेसको उम्मेदवारको रूपमा चुनाउ लडेका थिए, तर कुनै पनि चुनाउमा सफल हुन सकेनन्।

About Author

Advertisement