गान्तोक: राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले आज केन्द्रिय स्वास्थ्य एवं परिवार कल्याण विभागका मन्त्री जेपी नड्डालाई सिक्किम राज्यको ताजा स्वास्थ्य स्थितिबारे जानकारी गराएका छन्। नयाँ दिल्लीको आधिकारिक भ्रमणमा रहेका राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले केन्द्रिय स्वास्थ्य एवं परिवार कल्याण अनि रसायन र उर्वरक मन्त्री जे.पी. नड्डासँग भेट गरेका थिए। यस सौहार्द्रपूर्ण भेट अवधि मुख्यमन्त्री तामाङले केन्द्रिय मन्त्री नड्डालाई विशेषगरी हाल निर्माणाधीन सिङताम अनि नाम्ची जिल्ला अस्पतालको बारेमा जानकारी गराएका छन्। योसँगै उनको नयाँ जिम्मेवारीको निम्ति मुख्यमन्त्री तामाङले बधाई दिँदै सफल कार्यकालको कामना गरेका छन्।
मुख्यमन्त्री तामाङसँगको कुराकानी अवधि केन्द्रिय मन्त्री नड्डाले सिक्किम राज्यमा अस्पतालहरूको बढ़ोत्तरी गर्न विविध योजनाहरूमार्फत सहयोग पुऱ्याउने आश्वासन दिएका छन्। केन्द्रिय मन्त्रीले एसटीएनएम अस्पतालमा क्यान्सर अनि हड्डीको उपचारहेतु सुपर-स्पेशियालिटी ब्लक स्थापित गर्न मुख्यमन्त्री तामाङलाई सुझाउ दिएका छन्। केन्द्रिय मन्त्रीसँगको यस भेट अवधि राज्यका स्वास्थ्य एवं परिवार कल्याण विभागका मन्त्री जीटी ढुंगेल, लोकसभा सांसद डा. इन्द्रहाङ सुब्बा, राज्यसभा सांसद डीटी लेप्चा, मुख्य सचिव भीबी पाठक, मुख्यमन्त्री कार्यालयका सचिव एसडी ढकाल आदिको उपस्थिति रहेको थियो।