नयाँ दिल्ली: १८औं लोकसभाका लागि निर्वाचित सदस्यहरूको शपथ ग्रहण कार्यक्रम सोमबारदेखि शुरु भएको छ। यसैबीच, उत्तर प्रदेशको बरेलीका भाजपा सांसद छत्रपाल सिंह गंगवारले शपथपछि ‘जय हिन्दू राष्ट्र, जय भारत’ नारा लगाए। त्यसपछि संसदमा हंगामा भयो। उनको शपथप्रति विपक्षी नेताहरुले आपत्ति जनाए। विपक्षीले संविधानको शपथ लिँदा यस्तो कुरा भन्न नसकिने, संविधान विपरीत भएको बताए। यसअघि हैदराबादका सांसद असदुद्दीन ओवैसीको शपथ ग्रहणलाई लिएर संसदमा ठूलो हंगामा भयो। शपथ ग्रहणपछि उनले ‘जय फिलिस्तिन’ नारा लगाए। एआईएमआईएम प्रमुख तथा हैदरावाद सांसद असदुद्दीन ओवैसीले मंगलबार संसदमा शपथ ग्रहण गरेपछि ‘जय भीम, जय तेलंगाना, जय फिलिस्तिन’ नारा लगाए। यसबारे सांसद शोभा करन्दलाजेले प्रश्न उठाइन्। त्यसपछि संसदका अन्य सदस्यहरूले पनि जय फिलिस्तिन भन्नमा आपत्ति जनाएका थिए। विवाद बढ्दै गएको देखेर बेन्चमा बसेका राधामोहन सिंहले अभिलेखबाट हटाउन आदेश दिए। जब असदुद्दीन ओवैसीको नाम बेन्चबाट शपथ लिन बोलाइयो, सदनमा भारत माता की जयको नारा लगाइयो। यससँगै केही सांसदले जय श्रीरामको नारा लगाएका थिए। यसैबीच ओवैसी शपथ लिन मञ्चमा पुगेपछि पहिलो काम जय भीमको नारा लगाएका थिए। त्यसपछि उनले उर्दूमा शपथ ग्रहण गरे। यसअघि कांग्रेस नेता राहुल गान्धी र समाजवादी पार्टीका प्रमुख अखिलेश यादवले लोकसभामा सांसदको शपथ लिएका थिए। शपथ ग्रहणका क्रममा उनले हातमा संविधानको प्रतिलिपि बोकेका थिए। शपथ लिनुअघि राहुल गान्धीले संविधानको प्रतिलिपि उठाए र सत्तारुढ दललाई देखाए। यसपछि उनले शपथ लिए।