
किंग्स्टाउन (सेण्ट भिन्सेण्ट): सुपर ८-को रोमाञ्चक म्याचमा यादगार जीतको साथ अफगानिस्तानले आईसीसी टी२० वर्ल्ड कपको सेमिफाइनलमा स्थान बनायो। मंगलवार बिहान खेलिएको ग्रुप १-को अन्तिम म्याचमा अफगानिस्तानले बंग्लादेशलाई डकवर्थ लुइस प्रणालीद्वारा ८ रनले पराजित गऱ्यो। यस जीतको साथै अफगानिस्तानले आफ्नो ग्रुपबाट भारत पछि दोस्रो टीमको रूपमा सेमिफाइनलमा स्थान बनायो। यसरी नै अष्ट्रेलिया र बंग्लादेशको वर्ल्ड कप यात्रा चाहिँ समाप्त भयो। अफगानिस्तान कुनै पनि सीनियर वर्ल्ड कप (वनडे र टी२०)-को सेमिफाइनलमा पुगेको यो पहिलोपल्ट हो। ग्रुप १-मा भारत आफ्नो तीनैवटा म्याच जितेर ६ पोइण्ट्सको साथ शीर्षमा रह्यो। यसरी दोस्रो स्थान हासिल गर्ने अफगानिस्तानले ४ पोइण्ट्स बटुल्यो। अष्ट्रेलिया २ पोइण्टको साथ तेस्रो र बंग्लादेश जम्मै म्याच हारेर चौथो स्थानमा रह्यो। म्याचमा टस जितेर पहिला ब्याटिंग गर्दै अफगानिस्तानले २० ओभरमा ५ विकेट गुमाेर ११५ रन बनायो। त्यसपछि बंग्लादेशको ईनिंग्समा वर्षाले वाधा पुऱ्याउँदा टीमलाई १९ ओभरमा ११४ रन बनाउने संशोधित लक्ष्य प्राप्त भयो। अन्तमा बंग्लादेशको टीम १७.५ ओभरमा १०५ रन बनाएर अलआउट भयो। नवीन उल हकले १८औं ओभरको चौथो र पाँचौं बलमा लगातार दुई विकेट हासिल गरी अफगानिस्तानलाई जीत दिलाए। बंग्लादेशबाट ओपनर लिटन दासलाई छोड़ेर अन्य कसैले पनि उल्लेखनीय योगदान दिन सकेनन्। लिटनले ५ वटा चौका र एउटा छक्काको साथ ४९ बलमा अविजित ५४ रन बनाए। यसबाहेक तौहिद हृदोयले १४ र सौम्य सरकारले १० रन बनाए। बंग्लादेशबाट चारजनाले त खाता पनि खोल्न सकेनन्। अफगानिस्तानका बलरहरूमा कप्तान राशिद खान र नवीन उल हकले ४-४ विकेट लिए। यसअघि टस जितेर पहिला ब्याटिंग गर्ने अफगानिस्तानबाट पनि ओपनर रहमानुल्लाह गुरबाजलाई छोड़ेर अन्य कसैले ठूलो ईनिंग्स खेल्न सकेनन्। उनले ५५ बलमा ४३ रन बनाए, जसमा ३ वटा चौका र एउटा छक्का सामेल छ। गुरबाजले इब्राहिम जादरानसँग मिलेर पहिलो विकेटको निम्ति १०.४ ओभरमा ५९ रनको पार्टनरशीप गरे। जादरानले १८ रन बनाए। त्यसपछि गुरबाजले अजमातुल्लाह ओमारजाईसँग मिलेर स्कोर ८४ रनसम्म पुऱ्याए। ओमारजाईले १० रन बनाए। त्यसपछि अन्तिम ओभरहरूमा लगातार विकेटको पतन हुँदा अफगानिस्तानले ठूलो स्कोर बनाउन सकेन। बंग्लादेशका बलरहरूमा रिशाद होसेनले सर्वाधिक ३ विकेट लिए। टुर्नामेण्टको दुईवटा सेमिफाइनल २७ जूनमा खेलिनेछ। बिहान ६ बजीदेखि शुरु हुने पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिका र अफगानिस्तानबीच भिड़न्त हुनेछ। यसरी दोस्रो सेमिफाइनल राति ०८ बजीदेखि भारत र ईंग्ल्याण्डबीच खेलिनेछ। फाइनल २९ जूनमा हुनेछ।