
झापा: उदयपुर र ताप्लेजुङको छुट्टाछुट्टै स्थानबाट पेस्तोल र भरुवा बन्दुकसहित दुईजनालाई पुलिसले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा उदयपुरको त्रियुगा नगरपालिका ३ का २० वर्षीय जुलेस रायमाझी र ताप्लेजुङको पाथीभरा याङबरक गाउँपालिका ४ का ४३ वर्षीय नरेश फुयाङ लिम्बू रहेका छन्। यसैगरी उदयपुरको त्रियुगा नगरपालिका १२ स्थित साथीको घरमा आएका रायमाझीले साथमा पेस्तोल बोकेका छन् भन्ने विशेष सूचनाको आधारमा जिल्ला पुलिस कार्यालय उदयपुरबाट खटिएको पुलिस टोलीले रायमाझीको शरीर खानतलासी गर्दा साथमा लुकाईछिपाई बोकेको खाली म्याग्जिनसहितको पेस्तोल एक थान फेला परेकोले उनलाई पेस्तोलसहित पक्राउ गरिएको हो।
त्यसैगरी इलाका पुलिस कार्यालय तेल्लोकबाट खटिएको पुलिस टोलीले गाउँघरमा लुकिछिपी बसेको अवस्थामा लिम्बुलाई भरुवा बन्दुक १ थान र बन्दुकमा प्रयोग गर्ने बारुदसहित पक्राउ गरेको हो। पक्राउ परेका उनीहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको पुलिसले जनाएको छ।











