
झापा: वैदेशिक रोजगारीका नाममा हुने ठगी डरलाग्दो छ। वैदेशिक रोजगारीमा जाने अधिकांश नेपाली युवा गाउँघरकै दाजुभाइ दिदीबहिनी, आफन्त र सहरका वैदेशिक रोजगार व्यवसायी कम्पनी, ट्राभल एजेन्सी, एजुकेसन कन्सलटेन्सीलगायतबाट ठगिने गरेका छन्। यसरी ठगीमा पर्ने सबैको तथ्याङ्क भेटिँदैन। वैदेशिक रोजगारीमा भएका ठगीसम्बन्धी उजुरीमध्ये आधाभन्दा कम मात्रै फस्योर्ट हुने गरेको पाइएको छ।
वैदेशिक रोजगार विभागका अनुसार आव २०२४/२०२५ को ११ महिनासम्म छ हजार ८४३ उजुरी दर्ता भएका छन्। तीमध्ये तीन हजार ३१३ अर्थात् ४८.४५ प्रतिशत फर्स्योट गराउँदा २७ करोड ७२ लाख ९१ हजार ४१२ बराबरको रकम क्षतिपूर्ति भराइएको छ।
विभागका अनुसार सो अवधिमा उजुरी परेकामध्ये सबैभन्दा धेरै पुलिस शाखामा दुई हजार ९८६ उजुरी दर्ता भएका छन्। तीमध्ये एक हजार ८९२ वटा उजुरी फर्स्योट भए भने ८२ वटा उजुरीमा मिलापत्र गराइएको छ। त्यसबाट एक करोड ६५ लाख ५४ हजार ६६८ रुपियाँ बराबरको रकम क्षतिपूर्तिबापत भराइएको विभागले जनाएको छ। सो अवधिमा पुलिसमा दर्ता भएका उजुरीमध्ये एक हजार ११६ वटा उजुरी फर्स्योट हुन बाँकी छन्।
यस्तै सो अवधिमा विभागको मुद्दा तथा अनुसन्धान शाखामा दुई हजार ६०१ वटा उजुरी दर्ता भएका छन्। सो शाखामा दर्ता भएका उजुरीमध्ये ४२१ वटाको मिलापत्र गराइएको छ भने ३५६ वटा उजुरी अदालतमा मुद्दा दायर गरिएको छ। सो अवधिमा मिलापत्र गराउँदा पीडकबाट पीडितलाई क्षतिपूर्तिबापत २२ करोड आठ लाख ७१ हजार ४२९ रुपियाँ भराइएको विभागका निर्देशक गुरुदत्त सुवेदीले जानकारी दिए। उनका अनुसार यस शाखामा सो अवधिमा परेका उजुरीमध्ये एक हजार ८२४ वटा उजुरी छानबिन गर्ने काम भइरहेको छ।
त्यसै गरी सो अवधिमा विभागमा उद्धार राहत तथा समन्वय शाखामा एक हजार २५६ वटा उजुरी भएकोमा ६६१ वटा उजुरीको फस्र्याेट गरी पीडितलाई तीन करोड ९९ लाख ६५ हजार २८५ रुपियाँ बराबरको रकम क्षतिपूर्ति भराइएको छ। शाखाले सो अवधिमा आएका उजुरीमध्ये १५२ जनालाई आपसी सहमति गराएको छ भने २२ वटा उजुरी तामेलीमा राखेको छ। वैदेशिक रोजगारीका क्रममा समस्यामा परेका १४६ जनालाई विभिन्न देशबाट उद्धार गरी स्वदेश ल्याउन सफल भएको जनाइएको छ।
निर्देशक सुवेदीले वैदेशिक रोजगारीका सम्बन्धमा परेका उजुरीमध्ये ठुलो सङ्ख्याका व्यक्तिगत भएकाले ती उजुरी टुङ्गो लगाउन समय लाग्ने भएकाले फर्स्योटको सङ्ख्या विगतको भन्दा बढेको जानकारी दिए।
विभागका अनुसार गत आव २०२२/२०२३ मा वैदेशिक रोजगारीका क्रममा ठगी भएका उजुरीको सङ्ख्या तीन हजार ३५६ थिए भने गत आव २०२१/२०२२ मा वैदेशिक रोजगारीका नाममा परेका उजुरीको सङ्ख्या एक हजार ७४२ वटा थिए। तीन आवको तथ्याङ्क विश्लेषण गर्दा चालु आव २०२३/२०२४ को ११ महिनामा छ हजार ८४३ उजुरी दर्ता भएका छन्।
पछिल्लो दुई वर्षको बिचमा विभाग र प्रहरीमा परेको उजुरीका सङ्ख्या हेर्दा वैदेशिक रोजगारीमा जाने सङ्ख्यासँगै ठगीका उजुरी पनि बढेको पाइएको छ। त्यसो त विभागका अनुसार चालु आवको ११ महिनाको अवधिमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएर विदेश जानेको सङ्ख्या छ लाख ८२ हजार ५६६ जना रहेको छ। आव २०२२/२०२३ मा श्रम स्वीकृति लिएर बिदेसिनेको सङ्ख्या सात लाख ७१ हजार रहेको छ भने आव २०२१/२०२२ मा छ लाख ३० हजार ९० रहेको थियो।
विभागका निर्देशक सुवेदीले विदेश जाने बेलामा सरकारले तोकेभन्दा बढी रकम तिर्ने र विदेशमा पुगेर समस्यामा परेपछि मैले यति रकम तिरेको भन्दै विभागमा उजुरी गर्न आउने युवाको सङ्ख्या धेरै भएको जानकारी गराए।
वैदेशिक रोजगारीका क्रममा ठगीमा परेर भनेर आउने उजुरी सबैभन्दा बढी व्यक्तिगत रहेको र रकम पनि व्यक्तिगतकै बढी हुने गरेको पाइन्छ। विभागका निर्देशक सुवेदीले व्यक्तिगत रूपमा हुने ठगी युरोप, अमेरिका, अस्ट्रेलियालगायतका देशमा पठाउने भन्दै शिक्षित व्यक्ति नै पीडित हुने गरेको र रकम पनि ठुलो परिमाणको हुने गरेको बताउछन्।
व्यक्तिगततर्फ उजुरी गर्न आउनेमा म्यानपावर संस्था, कन्सलटेन्सी, ट्राभल एजेन्सीबाट ठगिए पनि सबैभन्दा बढी एजेन्टबाट ठगिने गरेको उनको भनाइ छ। विभागमा खाडी र मलेसिया जाने श्रमिकभन्दा अमेरिका, क्यानडा, पोर्चुगल, पोल्यान्ड जस्ता देश पठाइदिन्छु भन्दै लाखौँ रुपियाँ ठगी भएको उजुरी गर्न विभाग आउनेको सङ्ख्या पनि ठुलो छ।
यस्तो उजुरीमा विभागले प्रमाण भएको अवस्थामा मात्रै कारबाही र क्षतिपूर्ति दिलाउने गरेको छ। विभागका अनुसार म्यानपावर कम्पनीको नाममा आउने उजुरी कानुनी दायरामा कमै मात्र जान्छ तर व्यक्तिगत उजुरी भने कानुनको दायरामा बढी जाने गरेको छ।