
झापा: धनुषा जिल्लाको मिथिला नगरपालिका–२ बेलाचापीस्थित सतलोक आश्रममा २१ जोडीले सामूहिक रूपमा दाइजोमुक्त अन्तरजातीय विवाह गरेका छन्। सन्त रामपालको सतलोक आश्रममा कबिर परमेश्वरको ६२७ औँ प्रकट दिवसका अवसरमा आयोजित समारोहमा गत शुक्रबार २१ जोडीले सामूहिक अन्तरजातिय विवाह गरेको खड़ग बहादुर खड्काले जानकारी दिए।
गुरुवाणीद्वारा २३ करोड देवीदेवताको स्तुति र मन्त्र उच्चारण गरी १७ मिनेटमा सामूहिक विवाह सम्पन्न गराइएको सन्त रामपालका अनुयायी खड्काले जानकारी दिए। उनका अनुसार विभिन्न महोत्सवमा यहाँ सामूहिक तथा दाइजोमुक्त विवाह हुने गरेको छ।
कवीर जयन्तीका अवसरमा उनको सम्झनामा प्रत्येक वर्ष मनाइने ‘कवीर परमेश्वर प्रकट दिवस’ विविध कार्यक्रम गरी मनाइएको छ। सन्त रामपालजी महाराजका अनुयायीद्वारा यही जुन २०देखि २२ सम्म तीन दिवसीय अखण्ड पाठ तथा भण्डारा कार्यक्रम आयोजना गरिएको थियो।
जुन २०मा पाठ प्रकाश गरी भण्डाराको प्रारम्भ गरिएको खड्काले बताए । उनका अनुसार दोस्रो दिन दाइजोमुक्त सामूहिक विवाहलगायत विभिन्न किसिमका समाज सुधारका कार्यक्रम भएका छन्। अनुयायीहरूले दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटीसँगको समन्वयमा रक्तदान पनि गरेका छन्।
कार्यक्रममा मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डल, मुख्यमन्त्री सतिशकुमार सिंहलगायत प्रदेशका विभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थिति थियो।