आईसीसी टी२० वर्ल्ड कपः अष्ट्रेलियालाई पराजित गरी सेमिफाइनलमा पुग्यो भारत

ग्रस आइलेट (सेण्ट लूसिया): भारतले आफ्नो अजेय अभियान जारी राख्दै आईसीसी टी२० वर्ल्ड कपको सेमिफाइनलमा स्थान बनायो। सुपर ८ चरणअन्तर्गत सोमवार राति खेलिएको ग्रुप १-को म्याचमा भारतले अष्ट्रेलियालाई २४ रनले पराजित गऱ्यो। यस जीतको साथै भारत ३ वटा म्याचमा ६ पोइण्ट्सको साथ ग्रुप विजेता बनेर सेमिफाइनलमा पुग्यो, जहाँ रोहित शर्मा अनि टीमको भिड़न्त ग्रुप २-को उपविजेता ईंग्ल्याण्डसँग हुनेछ। म्याचमा टस हारेर पहिला ब्याटिंग गर्दै भारतले कप्तान रोहित शर्माको विध्वंशी ब्याटिंगको सहायताले २० ओभरमा ५ विकेट गुमाएर २०५ रनको ठूलो स्कोर बनायो। त्यसपछि अष्ट्रेलियाई टीमले २० ओभरमा ७ विकेट गुमाएर १८१ रन मात्र बनाउन सक्यो। ठूलो लक्ष्यलाई अघि राखेर खेल्न ओर्लिने अष्ट्रेलियाई टीमबाट ओपनर ट्रेविस हेडले सर्वाधिक ७६ रन बनाए। ओपनर डेविड वार्नर केवल ६ रन बनाएर पहिलो ओभरमै आउट भए पनि हेडले कप्तान मिचेल मार्शसँग दोस्रो विकेटको निम्ति ८१ रनको पार्टनरशीप गरी भारतमाथि दबाउ कायम राखे। मार्शले २ वटा छक्का र ३ वटा चौकाको साथ २८ बल खेलेर ३७ रन बनाए। मार्शको विकेट पतन भएपछि हेडले फेरि ग्लेन म्याक्सवेलसँग मिलेर स्कोर १४औं ओभरमा १३८-सम्म पुऱ्याए। म्याक्सवेल १२ बलमा २० रन बनाएर आउट भएपछि चाहिँ भारतीय बलरहरूले लगातार विकेट हासिल गरी अष्ट्रेलियालाई म्याचबाट बाहिर गरे। भारतको निम्ति सबैभन्दा ठूलो चुनौती बनेका हेड १७औं ओभरको तेस्रो बलमा जसप्रीत बुमराहको शिकार बन्नको साथै अष्ट्रेलियाको हार तय भयो। हेडले ४३ बल खेलेर ९ वटा चौका र ३ वटा छक्का लगाए। अन्तिम ओभरहरूमा टिम डेविडले १५ र प्याट कमिन्सले अविजित ११ रन बनाए पनि टीमलाई हारबाट बचाउन सकेनन्। भारतीय बलरहरूमा अर्शदीप सिंहले ३ र स्पिनर कुलदीप यादवले २ विकेट लिए। यसअघि भारतको ईनिंग्समा कप्तान रोहितले विध्वंशी ब्याटिंग गर्दै अष्ट्रेलियाको बलिंग आक्रमणलाई ध्वस्त पारे। ओपनरको भूमिकामा विराट कोहली (शून्य रन) फेरि एकपल्ट असफल भए पनि रोहितले शुरुदेखि नै आक्रामक मिजास देखाएर अष्ट्रेलियाई बलरहरूलाई समस्यामा पारे। केवल ८ रनले शतकदेखि वञ्चित हुने रोहितले ८ वटा छक्का र ७ वटा चौकाको साथ ४१ बल खेलेर ९२ रन बनाए। केवल ६ रनमा कोहली आउट भएपछि रोहितले रिषभ पन्त (१५ रन)-सँग दोस्रो विकेटको निम्ति ८७ रनको पार्टनरशीप गरे। शतकको नजिक पुगेर रोहित विपक्षी पेस बलर मिचेल स्टार्कको शिकार बने। रोहित आउट भएछि आक्रामक ब्याटिंग जारी राख्दै सूर्यकुमार यादवले ३१, शिवम दुबेले २८ र हार्दिक पाण्ड्याले अविजित २७ रन बनाएर भारतलाई २०५-को स्कोरसम्म पुऱ्याए। यसमा सूर्यकुमारले १६ बल खेलेर ३ वटा चौका र २ वटा छक्का लगाए। हार्दिकले पनि १७ बल खेलेर २ वटा छक्का र एउटा चौका लगाए। रविन्द्र जडेजा ९ रनमा अविजित रहे। अष्ट्रेलियाई बलरहरूमा स्टार्क र मार्कस स्टोइनिसले २-२ विकेट लिए। रोहितलाई प्लेयर अव् द म्याच चयन गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement