मुख्यमन्त्री तामाङले गरे प्रधानमन्त्री मोदीसँग भेट

IMG-20240624-WA0023.jpg

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले आज नयॉं दिल्लीस्थित संसद भवनमा देशका प्रधानमन्त्री नरेन्द्र मोदीसॅंग शिष्टाचार भेट गरे। यस भेटको क्रममा मुख्यमन्त्रीले प्रधानमन्त्री मोदीलाई लगातार तेस्रोपल्ट चुनाउमा जीत हासिल गरेको निम्ति बधाई दिॅंदै उनको नेतृत्वमा विश्वास व्यक्त गरे।

मुख्यमन्त्री तामाङले आज आफ्नो आधिकारिक फेसबुक पेजमार्फत उक्त जानकारी दिएका छन्। प्रधानमन्त्री मोदीसॅंग भएको भेट अवधि उनले निरन्तर समर्थन, विशेष रूपमा गत वर्ष अक्टोबर महिनामा सिक्किममा आएको बाढीको समय तत्काल राहतको निम्ति धन्यवाद दिए। यस क्रममा मुख्यमन्त्री तामाङले पुनर्प्राप्ति र पुनर्निर्माणका लागि ३६७३.२५ करोड़ रूपियॉंको प्रकोप पछिको आवश्यकता मूल्याङ्कन रिपोर्ट प्रस्तुत गर्दै निरन्तर समर्थनमाथि बल दिए।

यस अतिरिक्त प्रधानमन्त्रीसॅंग १२ आदिवासी समुदायलाई जनजातिको मान्यता, सिक्किम विधानसभामा लिम्बू र तामाङ (एलटी) को निम्ति सीट आरक्षण एवं परमपावन १७औं कर्मापा उगेन थिन्ले दोर्जीको सिक्किम भ्रमण विषय चर्चा गरेको उनले जानकारी गराएका छन्।

उनले प्रधानमन्त्रीलाई चिवा भञ्ज्याङमा सिक्किम र पूर्वी नेपालबीच एकीकृत चेकपोस्टको साथमा मल्टीमोडल कोरिडोर बनाउने पहलबारे जानकारी गराए। राष्ट्रिय राजमार्ग-10 को रणनीतिक महत्वबारे जनाउॅंदै उनले यसको बारम्बार अवरोधहरूको स्थायी समाधान र यसको मर्मतसम्भार एनएचएआई/एनएचआईडीसीएल जस्ता केन्द्रिय एजेन्सीलाई सुम्पन अनुरोध गरेको पनि बताएका छन्।

यसैगरी, मुख्यमन्त्रीले गान्तोकलाई इण्डो-चाइना सीमासॅंग जोड्ने राष्ट्रिय राजमार्ग-३१०ए को पुनर्स्थापनाको निम्ति हस्तक्षेपको अनुरोध गर्दै उक्त राष्ट्रिय राजमार्ग हालैमा उत्तर सिक्किममा बादल फाट्दा क्षतिग्रस्त भएको अवगत गराए। उनले प्रधानमन्त्री समक्ष पश्चिम बंगालको बाग्राकोट र सिक्किमको रोडाथाङबीच हिमालयन रेलवे लाइन विकास गर्न प्रस्ताव पेश गरे।

उनले प्रधानमन्त्री मोदीको पहल ‘एक पेड़ मॉं के नाम’ को सराहना गर्दै सिक्किमले उक्त पहल ७ जुलाई, २०२४ मा पालन गर्ने जानकारी गराएका छन्। सिक्किमले १६ मई, २०२५ मा ५०औं राज्य दिवस मनाइरहेको जानकारी गराउॅंदै मुख्यमन्त्री तामाङले प्रधानमन्त्री मोदीलाई यस अवसरमा मुख्य अतिथिको रूपमा आमन्त्रित गरेको र प्रधानमन्त्रीले पनि यसलाई स्वीकार गरेको बताएका छन्। मुख्यमन्त्रीको साथमा लोकसभा सांसद इन्द्रहाङ सुब्बा र राज्यसभा सांसद डीटी लेप्चा पनि उपस्थित रहेको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement