ओझेलमा परेका चित्रकार नारायणको अमूर्त चित्रकारिता

Narayan-Pradhan-works

महेश्वर प्रधान-

भनिन्छ ईश्वरले मान्छेलाई कि त गला दिन्छ कि त कला दिन्छ। गोरुबथानको सानो गाउँ आहलेमा यस्तै एकजना बेजोडका प्रतिभाशाली चित्रकार छन्, जसको चित्र हेरे पछि हेरिरहन मन लाग्छl खडकु प्रधानका माहिला छोरा नारायण प्रधान गजबकै भुइफुट्टा चित्रकार हुन्। शान्त, सुशिल र मृदुभाषी नारायण प्रधानसित सुन्दर चित्र कोर्ने अदभूत प्रतिभा छ। एक छोरीकी बाबु चित्रकार नारायणलाई सानैदेखिको चित्र कोर्ने हुँदा आफ्नै बलबुत्तामा चित्र कोर्न सिकेका हुन्। यसै त उनले चित्रकारिताको कुनै प्रशिक्षण लिएका छैनन्।

कोरोनाभाइरसको महामारीका बेलामा लकडाउन हुँदा उनको चित्र कोर्ने कलाले झनै बढी फस्टाउने मौका पायो। लकडाउनका हुँदा घरमै बसेर पेन्सिल र कुची लिएर चित्र कोरिबस्थे। उनी रंगहरुसितै घोलिएर रमाउँछन् भने पेन्सिल आर्टमा उनको दक्षतालाई हेर्ने गजबकै प्रतिभा छन्l नारायण प्रधान सानो छँदा पाठशालामा गुरु-गुरुमाले चित्र बनाउ भनेर प्रकृतिको चित्र कोर्न दिएका थिएl यसै क्रममा उनले पहिलोपल्ट चुच्चो हिमालको चित्र कोरेर देखाउँदा ‘‘तेरो हिमालको चुच्चोले भेट्यो भने त छेड्ने रहेछ नी” भनेर गुरुबाउले भन्दा साथीहरु गललल हाँसेका थिए भन्दै सो बेलाका यी कुरालाई सम्झिएर उनी हाँस्छन्l ‘‘त्यस बेला म आफू सुन्दर चित्र कोरेर सरलाई देखाएर स्याबासी थाप्छु’’ भन्ने ईख पालेका नारायणले वार्षिक परीक्षामा चार्ट पेपरमा चित्र बनाएर हातको काम लैजाँदा सरले ‘‘कसले बनाइ दियो?’’ भनेर सोद्धा आफूले बनाएको भन्दा सरले विश्वास नगरेको उनी बताउँछन्। तर पछि पछि उनको चित्रकारिताबारे थाहा पाएपछि गुरु-गुरुमाले उनलाई स्याबासी दिएl उनै गुरु-गुरुमाको आशिर्वादले आज यतिको बन्नसकेको पनि उनको भनाई छ।

“किन चित्र कोर्ने प्रशिक्षण लिनु भएन त?” सोद्धा उनी अलिक भाबुक हुँदै यसो भन्छन्, ‘‘सबभन्दा पहिले त त्यस बेला चित्रकारिताको प्रशिक्षण हाम्रोतिर थिएन। दोस्रो बुवा साधारण चपरासी काम् गर्नुहुन्थ्यो। परिवारमा आफूलगायत ठूलो दाजु र कान्छा भाई थियो। घरको आर्थिक अवस्था साह्रै राम्रो थिएन। यसैकारण पनि  प्रशिक्षण लिन पाइएन। तर चित्र कोर्न भने छोड्नै सकिन।’’ चित्र कोर्ने क्रमका प्रारम्भिक पलको सम्झना गर्दै उनी भन्छन्, ‘‘चित्र कोर्न बस्दा गणितको खाताको बीच पन्ना च्यात्दै नक्सा बनाउँथे।’’ बुवा-आमाले खाता सकिस भनेर गाली गरेको कुरो सुनाउँदै चित्रकार प्रधान हाँस्छन्। चित्रकारहरु जस्तो गम्भीर प्रवृतिका हुन्छन्, नारायण प्रधान पनि उस्तै गम्भीर छन्। चित्र कोर्न बसेपछि सबै बिर्सन्छन्। खानु-सुत्नु सब बिर्सन्छन्। खाना खान बोलाउँदा  ‘‘ल पस्क एकैक्षण’’ भनेर फेरि बिर्सिन्छनु। ‘‘कोई बेला बोलाउँदा बोलाउँदा भातै सेलाउँछ अनि खानुपर्छ चिसै भात’’, यसरी गुनासो पोख्छिन् उनकी पत्नी पिङ्की प्रधान। यस्तै हुन्छन् प्राय: जस्ता चित्रकार, यसले त सिर्जना हुन्छ अदभूत कलाकृतिl “तर उनको सुन्दर चित्र तयार हुँदा सबैभन्दा पहिला हेर्ने म नै हुन्छु” भन्दै पत्नी पिङ्की खुशी हुन्छिन्। ‘कतिपल्ट लगिदिएको चिया काइ परेर फर्काएर ल्याएर फ्याँक्नु परेको उनी बताउँछिन्।

“तपाईको छोरो नारायण कस्तो थियो सानोमा?” नारायणकी आमालाई सोद्धा यसरी सम्झना गर्छिन्, ‘‘यो सानैदेखि गम्भीर स्वभावको थियो। एकोहोरो स्वभावको थियो। साहरी हा…हा…ही…ही..मा नलाग्ने थियो। कोठाभित्र पसेपछि छ कि छैन थाहै नहुने। एकपल्ट हामी दार्जीलिङ तेन्जिङ शेर्पाको म्युजियम हेर्न गएका थियौ। हेर्दै हेर्दै माथिल्लो तला पुगियो। भरे कसो कसो गर्दा त यसो हेरेको माहिलो छोरो नारायण त हामीसित छैन। अत्तालिएर त्यसको बुवा तल्लो तला झरेको त एउटी आईमाईको मुर्ति अघि उभिएर मुर्ति पो कतिबेरदेखि हेरिरहेको रहेछ।” सानैदेखिको गम्भीर आफ्नो माहिलो छोरो देख्दा बुवालाई कहिलेकहिं पीर परेको व्यथा सुनाउँछिन्। “एकोहोरो खाले छोरो, चुपचाप बस्न रुचाउने छोरो नारायणलाई देख्दा कहिलेकाहि साह्रै पीर लाग्थ्यो्। भविष्यमा के गरी खान्छ? यसरी लाटा जस्तो बस्नेले कसो गर्ने हो। साह्रै सुर्ता लाग्थ्यो तर यो उसको कलाकारिता थिएछ। आजभोलि चित्र कोर्छन्। मानिसहरुले वाहवाही गरिदिन्छन्। खुशी लाग्छ। घरको सिटिङ रुमतिर टालेको नक्सा देखेर आउने आगन्तुकहरुले “कति राम्रो!!” भनेको सुन्दा आनन्द लाग्छ।” साँच्चै सुन्दर चित्र कोर्ने चित्रकार नारायण प्रधान, तर किन हो कुनि ओझेलमा परेका छन्। गोरुबथानको फाँटमा चित्रकारिताको खेती मौलाउनु पर्ने हो। प्रकाशमा आउन पर्ने हो। तर उनी ओझेलमा छन्। उनीमात्र होइन अरु केही चित्रकारहरु पनि ओझेलमा छन्। यस्ता कलाकारहरु सर्वाधिक चर्चामा आउनु जरुरी छ।

“चित्र कोरेर कतिको आम्दानी हुन्छ त?” यो प्रश्न सुनेर हाँस्दै उनी यसो भन्छन्, ‘‘हाम्रो भेकतिर चित्र कोरेर, खेलहरु खेलेर, गाएर-नाँचेर पैसा कमाउँछु भन्नु फलामको चिउरा चपाउनु जस्तै हो हाम्रोतिर कलाकारको कलाकारितालाई वाहवाहसम्ममात्र सिमित राखिने गरिन्छ। हुन त हाम्रो जाति र समाजमा कलाकारितालाई पेशा बनाउने ट्रेन्ड छिरिसकेको छैन। समाजको आर्थिक स्थिति पनि दह्रो नहुनाले पनि कलाकारहरु ओझेलमा परेर हराउनु बाध्य भएका हुन्। तर अब उसो हाम्रा नेतृत्वहरुले हाम्रो क्षेत्रका कलाकारहरुलाई सम्वर्द्धना र संरक्षण गर्ने संस्कार शुरु गर्न जरुरी छ। यसो भएको खण्डमा हाम्रो भेकबाट पनि पेले, मारोडोना, पिकासो, लियानार्डो भिन्सी, जन्मन सक्छन्। कलाकारको कलाकारिताले जातिको पहिचानलाई बोक्ने कुरोमा दुईमत छैन।” हिजोआत उनले डिजिटल आर्टमा पनि हात हालेका छन्। नारायण जस्ता ओझेलमा परेका कलाकारहरुको संरक्षण हुनुपर्छ। “तपाईंसित कसैले चित्र कोरिमाग्न परे सम्पर्क गर्न चाहे कसो गर्नु पर्ला?” ओझेलमा परेका चित्रकार नारायण प्रधान मुसुक्क हाँस्दै भन्छन्, “हजुरहरुसित उहाँहरुले सम्पर्क गरे मेरो नम्बर तपाईहरुबाट प्राप्त गर्न सक्नेछन्। उहाँहरुले मलाई वाटसएपमार्फत आफ्नो फोटो पठाइदिनु भए म चित्र तयार गरिदिन्छु।”

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement