झापा: झापाको कमल गाउँपालिका वडा नं ७ को एकै गाउँका १२ वर्षदेखि १७ वर्ष उमेर समूहका किशोरीहरू बेपत्ता भएका छन्। किशारीहरु एकैसाथ हराएको ४ दिन बित्दा पनि पत्ता लाग्न नसकेपछि परिवारले खोजी कार्य गरिदिन पुलिस र गाउँपालिकासँग अनुरोध गरेका छन्। १३ वर्षीया जेनिसा श्रेष्ठ १२ वर्षीया दीक्षा ताजपुरिया र १७ वर्षीया सोनिया रिकीयासन बुधबारदेखि बेपत्ता भएका किशोरीका परिवारले जानकारी दिनुभएको कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले बताए। ३ जना एकैसाथ किशोरी हराउनु र ५ दिनसम्म फेला नपर्नु ठुलो चिन्ताको विषय बनेको छ, राईले भने। एकसाथ समूहमै किशोरीहरू बेपत्ता भएको जनाइएको छ। बेपत्ता किशोरीहरूको परिवार र गाउँ नै चिन्तित बनेर चारैतर्फ खोजी गरिरहेको भए पनि केही पत्ता नपाएपछि पालिका र प्रशासनको शरणमा पुगेको बताइन्छ। आफ्ना छोरीहरू बेपत्ता भएको घट्नाबारे इलाका पुलिस कार्यालय दमकमा अभिभावकले लिखित हुलियासहितको निवेदन दिएपछि प्रहरीले खोजी कार्य तीव्र बनाएको र खोजीका लागि विशेष टोली नै परिचालन गरिएको जिल्ला पुलिस कार्यालय झापाले जनाएको छ। गाउँपालिका अध्यक्ष राईका अनुसार गाउँपालिकाले इलाका पुलिस कार्यालय दमकका प्रमुख निशान थापासँग भेटेर र प्रमुख जिल्ला अधिकारी, जिल्ला पुलिस कार्यालय झापाका प्रमुख लगायतका सुरक्षा निकायका प्रमुखसँग फोनमार्फत किशोरीको खोजीका लागि पहल गर्न अनुरोध गरिएको छ।