ब्रीजटाउन (बारबाडोस): ईंग्ल्याण्डले आफ्नो आक्रामक क्रिकेट जारी राख्दै आईसीसी टी२० वर्ल्ड कपको सेमिफाइनलमा स्थान बनायो। टुर्नामेण्टको सुपर ८ चरणअन्तर्गत आइतवार राति खेलिएको ग्रुप २-को म्याचमा ईंग्ल्याण्डले अमेरिकालाई १० विकेटले पराजित गऱ्यो। म्याचमा टस हारेर पहिला ब्याटिंग गर्दै अमेरिकी टीम १८.५ ओभरमा ११५ रन बनाएर अलआउट भयो। त्यसपछि ईंग्ल्याण्डले कुनै विकेट नगुमाई ९.४ ओभरमै ११७ रन बनाएर सजिलै म्याच जित्यो। यस जीतको साथै ईंग्ल्याण्ड टी२० वर्ल्ड कप २०२४-को सेमिफाइनलमा पुग्ने पहिलो टीम बन्यो। सानो लक्ष्य भएको हुनाले ईंग्ल्याण्डले आफ्नो नेट रन रेटमा सुधार गर्न आक्रामक ब्याटिंग गऱ्यो। दुईजना ओपनर जोस बटलर र फिल सल्टले मैदानमा बाउण्ड्रीजको वर्षा गरेर अमेरिकी टीमको बलिंग आक्रमणलाई स्वाहा पारे। यसमा कप्तान बटलरले ३८ बल खेलेर अविजित ८३ रन बनाए। उनले ७ वटा छक्का र ६ वटा चौका लगाए। बटलरले विपक्षी बलर हरमीत सिंहको एकै ओभरमा ५ वटा छक्का पनि लगाए। यसरी उनका साथी सल्टले २१ बल खेलेर अविजित २५ रन बनाए। उनले २ वटा चौका लगाए। यसअघि पहिला ब्याटिंग गर्ने अमेरिकी टीमबाट कसैले पनि क्रीजमा टिकेर खेल्न सकेनन्। त्यहीमाथि ईंग्ल्याण्डका पेस बलर क्रिस जोर्डनले १९औं ओभरमा ह्याट्रिक सहित जम्मा ४ विकेट लिँदा अमेरिकी टीम अलआउट भयो। अमेरिकाको स्कोर एक समय ५ विकेटमा ११५ रन रहेको थियो अनि त्यहाँबाट टीमले एक रन पनि नजोड़ी रहल ५ वटा विकेट गुमायो। अमेरिकी टीमबाट नितिश कुमारले सर्वाधिक ३० रन बनाए। उनले २४ बल खेलेर एउटा चौका र २ वटा छक्का लगाए। यसबाहेक कोरी एण्डरसनले २९ र हरमीत सिंहले २१ रनको योगदान दिए। ईंग्ल्याण्डका बलरहरूमा जोर्डनले सर्वाधिक ४ विकेट लिए। यसबाहेक सेम कुरेन र अदिल राशिदले २-२ विकेट हासिल गरे। यस जीतपछि ईंग्ल्याण्ड ३ वटा म्याचमा ४ पोइण्ट्सको साथ ग्रुपको शीर्षमा रहन पुग्यो अनि ग्रुपको अन्य एउटा म्याचको परिणाम जे-जस्तै भए पनि टीमले सेमिफाइनलमा स्थान बनाउने तय भयो।