आईसीसी टी२० वर्ल्ड कपः वेष्ट इण्डिज विरुद्ध रोमाञ्चक जीत हासिल गरी द. अफ्रिका सेमिफाइनलमा

IMG-20240624-WA0003.jpg

नर्थ साउण्ड (एण्टीगा): आईसीसी टी२० वर्ल्ड कपको सुपर ८-मा रोमाञ्चक जीत हासिल गरी दक्षिण अफ्रिकाले सेमिफाइनलमा स्थान बनायो। सोमवार बिहान खेलिएको ग्रुप २-को अन्तिम म्याचमा दक्षिण अफ्रिकाले टुर्नामेण्टको सह-आयोजक वेष्ट इण्डिजलाई डकवर्थ लुईस नियमहरू अनुसार ३ विकेटले पराजित गऱ्यो। यस म्याचको समाप्तिपछि ग्रुप २-बाट दक्षिण अफ्रिका (३ वटा म्याचमा ६ पोइण्ट्स) र ईंग्ल्याण्ड (३ वटा म्याचमा ४ पोइण्ट्स)-ले सेमिफाइनलमा स्थान बनायो। यसरी टुर्नामेण्टको संयुक्त आयोजक वेष्ट इण्डिज र अमेरिकाले चाहिँ बिदावारी लियो। म्याचमा टस हारेर पहिला ब्याटिंग गर्दै वेष्ट इण्डिजले २० ओभरमा ८ विकेट गुमाएर १३५ रन बनायो। त्यसपछि दक्षिण अफ्रिकाले ब्याटिंग शुरु गरेपछि वर्षा हुँदा खेल रोकियो। खेल पुनः शुरु भएपछि दक्षिण अफ्रिकालाई १७ ओभरमा १२३ रन बनाउने संशोधित लक्ष्य हासिल भयो। चरम दबाउमा रहे पनि दक्षिण अफ्रिकाले १६.१ ओभरमा १२४ रन बनाएर म्याच जित्यो। यस अवधि टीमले ७ विकेट गुमायो। वेष्ट इण्डिजको निम्ति अलराउण्डर रोस्टन चेसले सक्दो प्रयास गरे पनि टीमलाई जिताउन सकेनन्। लक्ष्य सानै भए पनि त्यसलाई हासिल गर्न दक्षिण अफ्रिकी टीमलाई निक्कै गाह्रो पऱ्यो। अन्तमा मार्को यानसनले अविजित २१ रन बनाएर टीमलाई जीत दिलाए। उनले ओबेदे मकायको बलमा छक्का लगाएर टीमलाई जीत दिलाए। कगिसो रबाडा ५ रनमा अविजित रहे। टीमको शीर्ष क्रमको निराशाजनक प्रदर्शनले एक समय दक्षिण अफ्रिका समस्यामा थियो। क्विण्टन डी कक १२ रन बनाए पनि उनका साथी ओपनर रीजा हेण्ड्रिक्स खाता पनि नखोली आउट भए। कप्तान एडन मार्करमले १८ रन बनाए। मध्यक्रममा ट्रिस्टन स्टब्सले २९ र हेनरिख क्लासेनले २२ रन बनाए। वेष्ट इण्डिजका बलरहरूमा रोस्टन चेसले सर्वाधिक ३ विकेट लिए। यसबाहेक आन्द्रे रसेल र अल्जारी जोसेफले २-२ विकेट हासिल गरे।
यसअघि पहिला ब्याटिंग गर्दै वेष्ट इण्डिजको शुरुवात खराब रह्यो। फर्ममा रहने ओपनर साई होप (००) र निकोलस पूरन (०१) ईनिंग्सको पहिलो ७ बलमै आउट भए। यसरी ५ रनमै २ विकेटको पतनपछि रोस्टन चेसले जिम्मेवारीको साथ खेल्दै ओपनर काइल मायर्ससँग मिलेर ८१ रनको उपयोगी पार्टनरशीप गरे। मायर्सले ३४ बलमा ३५ रन बनाए। उनले ३ वटा चौका र २ वटा छक्का लगाए। तबरेज शम्सीले मायर्सलाई आउट गरी यस पार्टनरशीपलाई तोड़ेपछि वेष्ट इण्डिजले लगातार विकेट गुमाउन थाल्यो। यसैकारण टीमले ठूलो स्कोर बनाउन सकेन। चेसले ४२ बल खेलेर सर्वाधिक ५२ रन बनाए। उनले ३ वटा चौका र २ वटा छक्का लगाए। अन्तिम ओभरहरूमा कसैले पनि उल्लेखनीय योगदान दिन सकेनन्। आन्द्रे रसेलले २ वटा छक्काको साथ १५ रन बनाए। दक्षिण अफ्रिकी बलरहरूमा शम्सीले सर्वाधिक ३ विकेट लिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement