नयाँ दिल्ली: ओलम्पिक पदक विजेता भारतका दिग्गज पहलवान बजरंग पूनिया फेरि समस्यामा परेका छन्। राष्ट्रिय डोपिंग रोधी एजेन्सी (नाडा) – ले उनीमाथि डोपिंग नियमहरूको उल्लंघन गरेको आरोप लगाउँदै फेरि प्रतिबन्ध लगाएको छ। नाडा-ले उनीमाथि अप्रेलमा पनि प्रतिबन्ध लगाएको थियो तर पहलवानलाई ‘आरोपको नोटिस’ जारी नगरिएको आधारमा तीन हप्ता अघि एडीडीपी-ले बजरंगमाथि लगाइएको प्रतिबन्धलाई रद्द गरेको थियो। नाडाले २३ अप्रेलमा टोक्यो ओलम्पिकमा काँस्य पदक विजेता भारतीय पहलवानलाई मार्चमा सोनीपतमा ट्रायल्सको अवधि मूत्र नमूना दिन अस्वीकार गरेको आरोपमा निलम्बित गरेको थियो। त्यसपछि खेलको वैश्विक निकाय यूडब्ल्यूडब्ल्यू-ले पनि उनलाई निलम्बित गरेको थियो। बजरंगले निलम्बन विरुद्ध अपील गरेका थिए अनि नाडाको अनुशासनात्मक डोपिंग प्यानल (एडीडीपी)-ले ३१ मईमा त्यसलाई रद्द गरेको थियो। एडीडीपी-ले त्यस समय नाडाले आरोपको नोटिस जारी नगरेसम्म निलम्बन रद्द रहने बताएको थियो। त्यसपछि नाडाले पनि कार्वाही गर्दै आइतवार पहलवानलाई नोटिस पठाएको थियो। बजरंगलाई पठाइएको नोटिसमा भनिएको छ, यो एउटा औपचारिक नोटिसको रूपमा कार्य गर्दछ कि तपाईंमाथि राष्ट्रिय डोपिंग रोधी नियम, २०२१-को अनुच्छेद २.३-को उल्लंघनको आरोप लगाइएको छ अनि अब तपाईलाई अस्थायी रूपले निलम्बित गरिन्छ। बजरंगसँग सुनुवाईको निम्ति अनुरोध गर्ने या आरोप स्वीकार गर्नको निम्ति ११ जुलाईसम्मको समय रहनेछ। बजरंगले यस साल हुने पेरिस ओलम्पिकमा हिस्सा लिनेछैनन्।