सोरेङ: स्वतन्त्रताको अमृत महोत्सवलाई केन्द्र गर्दै ७६औं स्वतन्त्रता दिवस अन्तर विभागीय फुटबल टुर्नामेन्टको सेमिफाइनलमा जन कार्य विभागले कृषि एवं बागवानीलाई एक गोलको विरुद्ध तीन गोलले पराजित गरी फाइनलमा प्रवेश गरेको छ। अर्को टिम सोरेङ जिल्ला पुलिस अघिबाटै फाइनलमा प्रवेश गरिसकेको छ। अन्तर विभागीय फुटबल टुर्नामेन्टमा जन कार्य विभाग र सोरेङ जिल्ला पुलिसबीच भीडन्त आयोजक समितिले जानकारी गराएको छ। सोरेङमा स्वतन्त्रता दिवसको अवसरमा राखिएको खुल्ला नृत्य प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्न सुखिम युनाइटेड सोरेङ सफल बन्यो। यसरी नै दोस्रो हिमालयन एकाडमी सोरेङ अनि तेस्रो सोरेङ उच्चतर माध्यमिक विद्यालय बनेका छन्। आजै सोरेङ जिल्ला र गेजिङ जिल्लाबिच खेलिएको महिला फुटबल म्याचमा गेजिङ जिल्लाले सोरेङ जिल्लालाई शुन्यको विरुद्ध दुई गोलले पराजित गऱ्यो। आजको खेलमा आयोजक समितिले बिजेता गेजिङ जिल्लालाई नगद राशि ३० हजार रुपियाँ र उपविजेता सोरेङ जिल्लालाई २० हजार रुपियाँ प्रदान गरे।

आजको कार्यक्रममा गेजिङ जिल्लाका जिल्लापाल हिस्से डी योङ्डा प्रमुख अतिथिको रूपमा उपस्थित थिइन्। यस स्वतन्त्रता दिवस समारोह समितिका मुख्य संरक्षक एवं मन्त्री एमएन शेर्पा, समारोह समितिका संरक्षक एवं क्षेत्र विधायक आदित्य गोले, मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीपी शर्मा, खेलकुद एवं युवा मामिला विभागका सल्लाहकार एमएन सुब्बा लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।