सिक्किम विधानसभाका अध्यक्ष एमएन शेर्पालाई जनाइयो सम्मान

IMG-20240623-WA0058.jpg

गान्तोक: शेर्पा समुदायबाट पहिलो पल्ट सिक्किम विधानसभाको गरिमामय पद अध्यक्षकोरूपमा नियुक्त भएका दरमदिन निर्वाचन क्षेत्रका विधायक एमएन शेर्पालाई आज एक कार्यक्रमबीच भव्यरूपमा सम्मान जनाइयो। डेजोङ शेर्पा एसोसिएशनको पहलमा राउतेस्थित एक होटलमा आयोजित कार्यक्रममा दार्जीलिङ, डुवर्स लगायत सिक्किम राज्यका विभिन्न संघ संस्थाहरूले सम्मान जनाए। कार्यक्रमलाई सम्बोधन गर्दै सिक्किम विधानसभाका अध्यक्ष एमएन शेर्पाले शेर्पा समुदायको इतिहास रचेकोमा राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङलाई उनले धन्यवाद दिँदै आभार प्रकट गरे। शेर्पा समुदायबाट सिक्किम विधानसभाको गरिमामयपदमा आफूलाई नियुक्ति गरेर मुख्यमन्त्रीले तर मुख्यमन्त्री तांमाङले विश्वभरिका शेर्पा समुदायको नाममा इतिहास रचेको जानकारी गराए। विशेष गरेर वर्ष २०१९ मा एसकेएम पार्टीको सरकार गठन भएपछि राज्यमा बस्ने तमाम जातिले न्याय पाएको बताए। यस भन्दा अघि शेर्पा समुदायबाट एक जना पनि मन्त्री र सचिव नभएको तर एसकेएम पार्टीको सरकार गठन हुनसाथ मन्त्री र सचिव पदमा नियुक्ति गरेको उनले थप जानकारी गराए। पूर्व सरकारको कार्यकालमा कुनै पनि समुदाय एक नहोस् भन्ने उद्देश्यले जात-जात र धर्ममा विभाजन गर्ने प्रथा रहेको थियो तर एसकेएम सरकारले ती सबै कुरालाई हटाएर अहिले सबै जाति, र धर्मलाई बराबर न्याया प्रदान गरे अवगत गराए। एसकेएम पार्टी सरकारमा आएपछि शेर्पा समुदायको धेरै वर्षदेखि थाँतीमा रहेको माग शेर्पा भवन पुरा भएको र यसको निम्ति पनि उनले मुख्यमन्त्रीलाई सम्पूर्ण शेर्पा समुदायको तर्फबाट धन्यवाद दिएका छन्। आगामी दिनमा शेर्पा समुदाय लगायत सिक्किमे समुदायको हितमा काम गर्ने बचन दिए। यसरी नै दरमदिन क्षेत्रमा थाँतीमा रहेको धेरै कामहरू पुरा गर्ने र त्यहाँका जनतालाई चुनाउको समयमा दिएको बचन पुरा गर्ने पनि उनले आश्वासन दिएका छन्। उक्त निर्वाचन क्षेत्रका जनताले आफूलाई दुइपल्टसम्म विजयी तुल्याएकोमा धन्यवाद दिँदै आभार प्रकट गरेका छन्। यसै क्रममा अल बंगाल बुद्धिस्ट शेर्पा एसोसिएशनका अध्यक्ष नवाङ शेर्पाले विश्वमा नै शेर्पा समुदायबाट एमएन शेर्पा विधानसभाको पहिलो पल्ट नियुक्त भएकोमा बधाई दिँदै यसले सम्पूर्ण शेर्पा समुदायलाई गर्व महसुस भएको बताए। यो शेर्पा समुदायको निम्ति सबै भन्दा ठूलो उपलब्धि मान्नु पर्ने उनले थप जानकारी गराए। उनले यसका साथै शेर्पा समुदायले आफ्नो भाषा, साहित्यको संरक्षणमाथि पनि पहल गर्नुपर्ने आग्रह गरे। आयोजक समितिका अध्यक्ष दोर्जी शेर्पाले धन्यवाद दिने क्रममा वर्तमान सरकारले शेर्पा समुदायलाई न्याय दिँदै सिक्किमको इतिहासमा कीर्तिमान कायम गरेको बताए। अहिलेसम्म सिक्किमको इतिहासमा शेर्पा समुदायबाट एक जना पनि मन्त्री र विधानसभाको अध्य़क्ष नबनेको बताए। यसबाट शेर्पा समुदायलाई मुख्यमन्त्रीको हेर्ने सकारात्मक दृष्टिकोण रहेको स्पष्ट भएको बताए। यस अवसरमा विभिन्न स्थानबाट आएका संघ संस्थाहरूले पनि अध्यक्ष शेर्पालाई सम्मान जनाए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement