किंग्सटाउन (सेण्ट भिन्सेण्ट): आईसीसी टी२० वर्ल्ड कप २०२४-मा उलटफेरको क्रम जारी रहेको छ। यसपारी सुपर ८-को ग्रुप १-को म्याचमा अफगानिस्तानले शक्तिशाली अष्ट्रेलियालाई २१ रनले पराजित गरी ठूलो उलटफेर गऱ्यो। यस जीतको साथै अफगानिस्तानले सेमिफाइनल खेल्ने सम्भावनालाई पनि कायम राख्यो कारण आउँदो म्याचहरुमा भारतले अष्ट्रेलियालाई पराजित गरे अनि अफगानिस्तानले बंग्लादेश विरुद्ध जीत हासिल गर्न सके राशिद खानको कप्तानीमा रहने टीमले सेमिफाइनलमा स्थान बनाउनेछ। यस ग्रुपको शीर्षमा रहने भारतपछि अहिले अष्ट्रेलिया र अफगानिस्तानसँग २-२ वटा म्याचमा २-२ पोइण्ट्स नै रहेको छ तर नेट रन रेटको आधारमा मिचेल मार्शको कप्तानीमा रहने टीमले दोस्रो स्थान हासिल गरेको छ। म्याचमा टस हारेर पहिला ब्याटिंग गर्दै अफगानिस्तानले २० ओभरमा ६ विकेट गुमाएर १४८ रन बनायो। लक्ष्य ठूलो नभए पनि लगातार विकेटको पतन हुँदा अष्ट्रेलियाई टीम १९.२ ओभरमा १२७ रन बनाएर अलआउट भयो। अष्ट्रेलियाको शुरुवात नै निराशाजनक रह्यो अनि लयमा रहने ट्रेविस हेड पहिलो ओभरमै शून्य रनमा नवीन उल हकको शिकार बने। त्यसपछि अष्ट्रेलियाले विकेट गुमाउने क्रम जारी राख्यो। डेविड वार्नर ०३ र कप्तान मिचेल मार्श १२ रन बनाएर आउट भए। यसरी केवल ३२ रनमा ३ विकेटको पतनपछि ग्लेन म्याक्सवेलले आफ्नो चीरपरिचित मिजासमा ब्याटिंग गर्न थाले। उनले मार्कस स्टोइनिससँग मिलेर स्कोर ७२-सम्म पुऱ्याए। स्टोइनिसले ११ रन बनाए। एक समय गत वर्ष आईसीसी वनडे वर्ल्ड कपमा झैं म्याक्सवेलले एक्लैको दममा अफगानिस्तानको चुनौती किनारा लगाउने सम्भावना देखिएको थियो तर गुलबदीन नईबले असाधारण दक्षताको साथ बलिंग गर्दै अफगानिस्तानलाई यादगार जीत दिलाए। म्याक्सवेलले ४१ बलमा ६ वटा चौका र ३ वटा छक्काको साथ ५९ रन बनाए। उनको विकेट पतन हुनको साथै अफगानिस्तानले अष्ट्रेलियाई ईनिंग्सलाई समेट्नमा अधिक समय लगाएन। अफगानिस्तानका बलरहरूमा गुलबदीनले ४ र नवीन उल हकले ३ विकेट लिए।

यसअघि अफगानिस्तानको टीमलाई फर्ममा रहने दुईजना ओपनर रहमानुल्लाह गुरबाज (४९ बलमा ६० रन) र इब्राहिम जादरान (४८ बलमा ५१ रन)-ले असाधारण शुरुवात दिलाए। यी दुईले अष्ट्रेलियाई बलरहरूको डटेर सामना गर्दै १५.५ ओभरमा पहिलो विकेटको निम्ति ११८ रनको पार्टनरशीप गरे। स्टोइनिसले गुरबाजलाई आउट गरी पार्टरनशीप तोड़ेपछि चाहिँ अफगानिस्तानले लगातार विकेट गुमाउन थाल्यो। गुरबाजले ४ वटा चौका र ४ वटा छक्का लगाए। यसरी जादरानले ६ वटा चौका लगाए। अफगानिस्तानले अन्तिम ओभरहरूमा तेजीको साथ रन बनाउन सकेन कारण अष्ट्रेलिलाई पेस बलर प्याट कमिन्सले तीन दिन भित्र आफ्नो दोस्रो ह्याट्रिक दर्ता गरे। कमिन्सले १७औं ओभरको अन्तिम बलमा राशिद खानलाई आउट गरे। त्यसपछि २०औं ओभरमा बलिंग गर्न फर्किएर पहिलो दुई बलमा करीम जनत (१३) र गुलबदीन नईबलाई आउट गरी आफ्नो ह्याट्रिक पूरा गरे। कमिन्स बाहेक एडम जाम्पाले २ विकेट लिए।