झापा: कोशी प्रदेश सरकारको मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना–२०२४ पास भएको छ। यो पास भएसँगै आगामी आर्थिक वर्षमा सुरुदेखि नै विपदका कार्यहरु गर्न सहज हुने छ। प्रदेश विपद व्यवस्थापन परिषद्को बसेको बैठकले योजना पास गरेको हो। मुख्यमन्त्री हिक्मत कुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले योजना पास गरेको हो। बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले मातहतका निकायहरुलाई विपदका बेला सबै मिलेर काम गर्नु पर्ने बताए। उनले प्रदेश सरकारले आपूmले सकेको सहयोग गर्ने र सुरक्षा निकायहरुसँग समन्वय गरेर काम गर्ने बताए। प्रदेश विपद व्यवस्थापन परिषद् मुख्यमन्त्रीको अध्यक्षतामा रहने कानूनी व्यवस्था छ। बैठकमा विपदका बेला आइपर्ने घटनाहरुलाई मध्यनजर गर्दै गर्नु पर्ने कार्ययोजनाहरुको बारेमा पनि छलफल भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव कमल थापाले बताए। बैठकमा चालु आर्थिक वर्षको जुन१९ सम्म प्रदेशमा विपदमा परेकाहरुलाई गरिएको राहत सहयोगका बारेमा पनि जानकारी दिइएको थियो। प्रदेश सरकारले ७२ लाख ५५ हजार राहत वितरण गरिसकेको छ। सबैभन्दा बढि उदयपुरमा ४९ जनालाई १६ लाख ९५ हजार र कम ओखलढुंगामा १ जनालाई ३० हजार वितरण गरेको छ।त्यस्तै विपदबाट प्रभावित भएका परिवारका निजी आवास पुनर्निर्माणका लागि १ करोड १४ लाख ४५ हजार खर्च भएको छ। प्रदेश सरकारले जाजरकोटका भुकम्प पीडितलाई समेत १ करोड सहयोग गरेको छ। त्यस्तै मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्रका लागि ३ ठाउँमा ६ करोड खर्च गरिसकेको छ। विपद व्यवस्थापनका लागि प्रदेश सरकारले सुरक्षा निकायहरु सँग पनि सहयोग र समन्वय गरेर काम गरिरहेको छ।