नर्थ साउण्ड (एण्टीगा): भारतले आफ्नो अजेय अभियान जारी राख्दै आईसीसी टी२० वर्ल्ड कपको सुपर ८-मा लगातार दोस्रो जीतको साथ सेमिफाइनलको गोरेटोलाई फराकिलो बनायो। शनिवार राति खेलिएको ग्रुप १-को म्याचमा भारतले बंग्लादेशलाई सजिलैसँग ५० रनले पराजित गऱ्यो। यस जीतपछि शीर्ष स्थानमा रहने भारतको २ वटा म्याचमा ४ पोइण्ट्स पुग्यो। यसरी बंग्लादेश आफ्नो दुवै म्याच हारेर ग्रुपको चौथो स्थानमा रहेको छ। म्याचमा टस हारेर पहिला ब्याटिंग गर्दै भारतले २० ओभरमा ५ विकेट गुमाएर १९६ रनको विशाल स्कोर बनायो। जवाफमा बंग्लादेशले २० ओभरमा ८ विकेट गुमाएर १४६ रन मात्र बनाउन सक्यो। बंग्लादेशको तर्फबाट कप्तान नाजमूल होसेन शान्तोले सर्वाधिक ४० रन बनाए। उनले ३२ बल खेलेर ३ वटा छक्का र एउटा चौका लगाए। यसबाहेक ताञ्जीद हसनले २९ र रिशाद होसेनले २४ रनको योगदान दिए। बंग्लादेशको ईनिंग्समा एउटा पनि ठूलो पार्टनरशीप हुन सकेन अनि लगातार अन्तरालमा विकेटको पतन हुँदा भारतको काम सजिलो भयो। भारतीय बलरहरूमा देब्रे हातका स्पिनर कुलदीप यादवले सर्वाधिक ३ विकेट लिए। यसबाहेक अर्शदीप सिंह र जसप्रीत बुमराहले २-२ विकेट हासिल गरे। अन्य एक विकेट हार्दिक पाण्ड्याको झोलीमा गयो। यसअघि टस हारेर पहिला ब्याटिंग गर्ने भारतीय टीमलाई कप्तान रोहित शर्मा र विराट कोहलीले तेज शुरुवात दिलाए। कप्तान रोहितले ११ बलमा ३ वटा चौका र एउटा छक्काको साथ २३ रन बनाए जबकि कोहलीले २८ बलमा ३७ रन बनाए। कोहलीले ३ वटा छक्का र एउटा चौका लगाए। टीमको स्कोर ३९ पुग्दा रोहित आउट भएपछि कोहलीले रिषभ पन्तसँग मिलेर स्कोर ७१-सम्म पुऱ्याए। पन्तले ४ वटा चौका र २ वटा छक्काको साथ २४ बलमा ३६ रन बनाए। भारतले पछिबाट कोहली, सूर्यकुमार यादव (६ रन) र पन्तलाई नियमित अन्तरालमा गुमायो अनि एक समय स्कोर ४ विकेटमा १०८ रहेको थियो। त्यहाँबाट हार्दिक पाण्ड्या र शिवम दुबेले मिलेर पाँचौं विकेटको निम्ति तेजीको साथ ५३ रनको पार्टनरशीप गरे।

ईनिंग्सको १८औं ओभरमा आउट हुन अघि दुबेले ३ वटा छक्काको साथ २४ बलमा ३४ रन बनाए। त्यहाँबाट हार्दिकले असाधारण ब्याटिंग गर्दै टीमलाई असल स्कोरसम्म पुऱ्याए। उनले ईनिंग्सको अन्तिम बलमा चौका लगाएर आफ्नो अर्द्धशतक पूरा गरे। हार्दिकले २७ बल खेलेर ४ वटा चौका र ३ वटा छक्काको साथ अविजित ५० रन बनाए। बंग्लादेशका बलरहरूमा तञ्जीम हसन साकिब र रिशाद होसेनले २-२ विकेट लिए। हार्दिक पाण्ड्यालाई प्लेयर अव् द म्याच चयन गरियो।