झापा: कोशी प्रदेश सरकारले डीपीआर नै तयार नभएको अस्पताललाई दिने भनेको डेढ करोड रूपैयाँ अनुदान जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले रोकेको छ। आवश्यक कागजात नै नपुगी प्रदेश सरकारले इटहरीमा बनाउने भनिएको अस्पताललाई सो रकम अनुदानस्वरूप दिने निर्णय गरेको थियो। निर्णयपछि जनबरी १८मा तत्कालीन प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले अस्पतालसँग अनुदान दिने गरी सम्झौता समेत गरेका थिए। सो अस्पताल जनस्वास्थ्य सरोकार ट्रस्ट (फेक्ट) ले सञ्चालन गर्ने बताइएको छ। ट्रस्टले कीर्तिपुरको बर्न अस्पताल सञ्चालन गर्दै आएको छ। यस्तै सो संस्थाले काठमाडौं मोडल अस्पतालसमेत सञ्चालन गर्दै आएको छ। कीर्तिपुरमा जस्तै इटहरीमा पनि बर्न अस्पताल सञ्चालन गर्ने गरी जिल्ला स्वास्थ्य कार्यालय सुनसरीमार्फत अनुदान रकम लिने तयारी गरिएको थियो। सम्झौताअनुसारको आवश्यक कागजात पूरा नगरी अनुदान माग गर्न फेक्ट नेपाल जिल्ला स्वास्थ्य कार्यालय सुनसरीमा गएपछि सो अनुदान रकम रोकिएको हो ।जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले अनुदान दिनका लागि आवश्यक कागजात नपुगेपछि अनुदान रोकिएको जनाएको छ। कार्यालय प्रमुख सागर प्रसाईँले लेखाले दिन नमिल्ने बताएपछि रकम रोकिएको बताए। यस विषयमा थप जानकारी लेखा अधिकृतलाई भएको बताए ।स्वास्थ्य कार्यालय स्रोतले भन्यो, ‘अनुदान दिनका लागि न भवन छ न भवनको नक्सा पास छ? कुनै संरचना नै नभएको अस्पताललाई कसरी अनुदान दिने?’ अनुदान दिनका लागि निर्णय हुँदा अस्पतालको डीपीआरसमेत तयार भएर पास भएको थिएन। अस्पताललाई अनुदान दिने निर्णय हुँदा वातावरणीय प्रभाव मूल्यांकन र माटोको परीक्षण मात्रै सम्पन्न गरेको थियो। तत्कालीन मुख्यमन्त्री केदार कार्कीले तीन महिनाभित्र अस्पताल भवन निर्माण सुरू गर्न १ करोड ५० लाख बजेट दिने सम्झौता गरेका थिए। तर, सम्झौता भएपछि पनि अस्पतालले भने निर्माणको काम सुरू गर्न सकेको छैन। भवन निर्माणको काम नै सुरू नगरी अनुदान माग गर्न गएकाले जिल्ला स्वास्थ्य कार्यालयले अनुदान रोकेको हो। इटहरी उपमहानगरपालिका– १८ मा बन्ने भनिएको अस्पतालको नाममा २ विगाह १० कठ्ठा जग्गा रहेको छ ।सो जग्गामा यसअघि पटक–पटक अस्पतालको शिलान्यास भएको छ। नक्सा पासविना नै शिलान्यास भए पनि अस्पताल भने बन्न सकेको छैन। २०६६ सालमा इटहरीमा ५० शय्याको बर्न अस्पताल र ओठ तालु फाटेका बिरामीहरूको उपचारका लागि विशेषज्ञ सेवा दिने भन्दै कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले सो अस्पतालको कम्पाउन्ड वाल निर्माणका लागि शिलान्यास गरेका थिए। कम्पाउन्ड वालको शिलान्यास गरे पनि अहिले सो जग्गा तारले बारिएको छ। तारले बारिएको जग्गामा अस्पताल बनाउन ट्रस्टले प्रदेश सरकारसँग आर्थिक सहयोग माग्दै आएको थियो। यसअघिका सरकारले अनुदान नदिएपछि भवन बन्ने प्रक्रिया नै अघि बढेको थिएन।तत्कालीन मुख्यमन्त्री शेरधन राईले २०७१७ फरबरिमा सो अस्पतालको शिलान्याससमेत गरेका थिए।