रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको भियतनामको औपचारिक भ्रमणका क्रममा दुवै देशका नेताहरुले सहयोग अभिवृद्धिमा जोड दिएका छन्। पुटिन राजकीय भ्रमणमा हनोई पुगेका हुन्। यस भ्रमणको उद्देश्य यस क्षेत्रमा रुसको कूटनीतिक प्रभाव बढाउनु हो। भियतनामी राष्ट्रपति तो लामले दुवै देशले सुरक्षाको क्षेत्रमा सहयोग बढाउन चाहेको बताएका छन्। यसैबीच राष्ट्रपति पुटिनले महत्वपूर्ण अन्तर्राष्ट्रिय मुद्दामा दुवै नेताको दृष्टिकोण समान वा धेरै नजिक रहेको बताए। उत्तर कोरियाबाट भियतनाम पुगेका पुटिनलाई रातो कार्पेटमा स्वागत गरिएको थियो। बीबीसी संवाददाताका अनुसार भियतनाम यस समयमा पुटिनका लागि उत्तर कोरिया भन्दा बढी महत्त्वपूर्ण छ किनभने भियतनाम हालैका वर्षहरूमा अमेरिकासँग नजिक भएको छ। पुटिनको हनोई भ्रमणको अमेरिकाले आलोचना गरेको छ।