सिलगढी: गाई-गोरु तस्करी मामिलामा तृणमूल कङ्ग्रेसका नेता अनुब्रत मण्डललाई पक्राउ गरेपछि खुसी मनाउँदै आज एसएफआईद्वारा सिलगढीमा फुल मिठाई वितरण गरियो। संगठनका सदस्यहरूले आज सिलगढीको हासमी चोकमा अनुव्रत मण्डललाई पक्राउ गरेकोमा खुसी व्यक्त गर्दै स्थानीय मानिसहरूलाई फुल मिठाई वितरण गरे। यसको साथै संगठनका सदस्यहरूले अबदेखि गाई-गोरु सुरक्षित रहने बताए। अनुब्रत मण्डल पक्राउ परेपछि अब गाई-गोरुहरू चोरी हुने डर छैन भन्दै मानिसहरूलाई प्रचार गरे। स्मरण रहोस्, सीबीआई ले गाई-गोरु तस्करी गरेको मामिलामा वीरभूमका प्रभावशाली तृणमूल नेता अनुब्रत मण्डललाई गत बिहिबार पक्राउ गरेपछि न्यायालयमा पेश गर्दा तिनलाई १० दिनको सीबीआई हिरासतमा पठाइएको छ।