गान्तोक: जङ्गुका क्षेत्र विधायक साथै राज्यका वन एवं पर्यावरण विभागका मन्त्री पिञ्छो नामग्याल लेप्चाले प्राकृतिक प्रकोपमा अत्यधिक प्रभावित तल्लो जङ्गु क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्। शुक्रवार स्थलगत निरीक्षणको क्रममा मन्त्री लेप्चाले तल्लो जङ्गुको पैह्रो अनि बाढ़ प्रभावित फिदाङ, गोर क्षेत्र पुगेर स्थितिको जायजा लिए। यस अवधि उनीसँग वन विभागका प्रभागीय वन अधिकारी (डीएफओ), सहायक वन संरक्षक लगायत अन्य अधिकारीहरू, ग्रेफका अधिकारीहरू, जिल्ला पञ्चायत, ग्राम पञ्चायत सदस्य लगायत एसकेएम पार्टीका प्रतिनिधिहरू साथमा रहेका थिए। वन एवं पर्यावरण विभागका मन्त्री लेप्चाले प्रभावित मानिसहरूलाई विभागद्वारा उपलब्ध गराइएको आवश्यक सामग्री, तिरपाल आदि वितरण गरे। यस अवधि उनले पीड़ितहरूसँग कुराकानी गर्दै सरकारको पक्षबाट आवश्यक सबै सहयोग गरिने वचन दिएका छन्। राज्य सरकार पीड़ितहरूको साथमा रहेको उनले आश्वस्त पारेका छन्। मुख्यमन्त्री प्रेमसिंह तामाङको नेतृत्वमा रहेको एसकेएम सरकारले संकटमा परेका राज्यवासीको समस्या समाधान गर्न कटिबद्ध रहेको उनले विश्वस्त पारे। आफ्नो निरीक्षण अवधि मन्त्री लेप्चाले सम्बन्धित निकायका अधिकारीहरूसँग स्थितिबारे चर्चा पनि गरेका छन्।
जानकारी गराइन्छ, राज्यमा हालै अविरल वर्षाको कारण धेरैवटा पूल, सड़क, सम्पत्तिहरूको व्यापक क्षति भएको छ। कतिपय पूलहरू बाढ़ले लगेको छ भने पैह्रोको कारण धेरै सड़कहरूमा यातायात अचल अवस्थामा पुगेको छ। तल्लो जङ्गु फिदाङमा हाल पुनः तुइनमार्फत सम्पर्क कायम राखिने कार्य भइरहेको छ।