गान्तोक: प्राकृतिक प्रकोपले सिक्किम राज्यलाई पुऱ्याएको क्षतिबारे केन्द्रको ध्यान आकर्षण गराउँदै राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले आज नयाँ दिल्लीमा आयोजित प्रि-बजेट बैठकमा केन्द्रिय बजेट २०२४-२५-मा यसमाथि अनुकूल विचार गर्न आग्रह गरेका छन्। केन्द्रिय वित्त मन्त्री निर्मला सीतारमणसँगै अन्य राज्यका मुख्यमन्त्रीहरूको साथ सम्पन्न प्रि-बजेट बैठकमा मुख्यमन्त्री तामाङले आफ्नो सम्बोधन अवधि यी विषय उठाएका हुन्। आज बिहान बसेको यस बैठकमा विभिन्न राज्यका मुख्यमन्त्रीहरू, वित्त मन्त्रीगण अनि वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो।
आफ्नो संक्षिप्त सम्बोधनमा मुख्यमन्त्री तामाङले वित्त मन्त्रीलाई बधाई दिँदै सहकारी संघीयताको महत्वपूर्ण भूमिकामाथि जोर दिए। उनले सिक्किमको वर्तमान स्थितिबारे ध्यान आकर्षण गराउँदै केन्द्रिय बजेट २०२४-२५-मा यसमाथि अनुकूल विचार गर्न आग्रह गरेका छन्। दक्षिण लोनार्क झील फुटेपछि त्यसले गम्भीर प्रभावले पारेको कुरालाई ध्यानाकर्षण गराउँदै मुख्यमन्त्री तामाङले यसको परिणामस्वरूप टिस्टा नदीमा आएको विनाशकारी बाढ़ले सिक्किम राज्यमा व्यापक क्षति भएको जानकारी गराएका छन्। उनले दीर्घकालीन पुनर्निर्माण पहलहरूको निम्ति अतिरिक्त विशेष अनुदानको माग गर्दै राष्ट्रसँग जोड़्ने सिक्किमको एक मात्र मूल सड़क राष्ट्रिय राजमार्ग १०-लाई पुनर्स्थापित गर्न तत्काल आवश्यकतामाथि जोर दिएका छन्। मुख्यमन्त्री तामाङले अत्यधिक वर्षाले निम्त्याउने जोखिमहरूबारे प्रकाश पार्दै दिगो अनि दीर्घकालीन समाधानको निम्ति कुरा उठाए। राज्यमा निर्माण र मरम्मत सम्भारमा महत्त्वपूर्ण लागत असमानता अर्को प्रमुख चिन्ताको विषय रहेको उल्लेख गर्दै मुख्यमन्त्री तामाङले पुनर्वास प्रयासहरूको योजना बनाउने समयमा यसमाथि विचार गर्न अनुरोध गरेका छन्। योसँगै उनले टिस्टा चरण-3 परियोजनाबाट हुने वार्षिक राजस्व घाटाको लागि क्षतिपूर्तिको आवश्यकतामाथि सम्बन्धित अधिकारीहरूको ध्यान आकर्षित गराए अनि २०२३-२४-को निम्ति एकीकृत वस्तु तथा सेवा कर सेटलमेण्टमा कमीको समीक्षा गर्न आह्वान गरेका छन्। मुख्यमन्त्री तामाङले पुँजीगत खर्चको लागि दीर्घकालीन ब्याजरहित ऋणको सकारात्मक प्रभावलाई स्वीकार गर्दै सिक्किमको लागि अधिक आवण्टनको निम्ति अनुरोध गरेका छन्।

यसवाहेक उनले राज्यहरूको लागि उधारो सीमा कायम राख्ने र राष्ट्रिय सामाजिक सहायता कार्यक्रम अन्तर्गत सहायता बढाउने प्रस्ताव गरेका छन्। आगामी बजेटमा यी समस्याहरूलाई केन्द्र सरकारले सम्बोधन गर्ने अनि सिक्किम राज्यको विकास र कल्याणलाई बढ़ावा दिने कुरामाथि मुख्यमन्त्री तामाङले विश्वास व्यक्त गरेका छन्।