झापा: चालु आर्थिक वर्षको ११ महिनामा ३ अर्ब ६५ करोड ७१ लाख ६१ हजार रुपैयाँ बराबरको सिमेन्ट र क्लिंकर निर्यात भएको छ। गत आर्थिक वर्ष सो अवधिमा ६७ करोड ७६ लाख ५३ हजार रुपैयाँ बराबरको सिमेन्ट र क्लिंकर निर्यात भएको भन्सार विभागको तथ्यांक छ। यस वर्ष १ अर्ब ८३ करोड २४ लाख रुपैयाँको २१ लाख ४७ हजार ७ सय ३७ टन सिमेन्ट निर्यात भएको विभागले जनाएको छ।
गत आर्थिक वर्ष सो अवधिमा ३१ करोड ३६ लाख ४२ हजार रुपैयाँ बराबरको ५ लाख ४ हजार ८ सय ४४ टन सिमेन्ट निर्यात भएको थियो।
यस्तै १ अर्ब ८२ करोड ४६ लाख ८९ हजार रुपैयाँ बराबरको ४ लाख ९६ हजार ७ सय ७३ टन क्लिंकर निर्यात भएको विभागले जनाएको छ। गत आर्थिक वर्ष सो अवधिमा ३६ करोड ४० लाख ११ हजार रुपैयाँ बराबरको ३ लाख ८८ हजार २ सय ७७ टन निर्यात भएको थियो। देशको सिमन्ट र सिमेन्टको कच्चा पदार्थ क्लिंकरको बजार भारत मात्र रहेको विभागको तथ्यांकले देखाउँछ।
चालु आर्थिक वर्षमा ५ अर्ब रुपैयाँको सिमेन्ट र क्लिंकर निर्यात गर्ने लक्ष्य लिए पनि ११ महिनामा ३ अर्बको मात्रै निर्यात भएको नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाले बताउछन। पछिल्ला वर्षमा पाल्पा सिमेन्टको तानसेन, अर्घाखाँची, बालाजी र सर्वोत्तम सिमेन्ट भारतमा निर्यात हुन थालेका छन्। यद्यपि गुणस्तर चिह्न अनिवार्य हुँदा निर्यात गर्न भारतकै गुणस्तर चिह्न लिनुपर्छ। स्वदेशी सिमेन्ट एक दर्जनभन्दा बढी उद्योगले गुणस्तर चिह्नका लागि आवेदन दिए पनि ४ वटाले मात्रै चिह्न पाएको थापाको भनाइ छ।
‘भारतमा सिमेन्ट निर्यात गर्न सो देशको गुणस्तर चिह्न लिनुपर्छ, अहिलेसम्म ४ वटा उद्योगले मात्रै लिएकाले उनीहरूले नै निर्यात गरिरहेका छन्,’ उनले भने, ‘एक दर्जनभन्दा बढी उद्योगले गुणस्तर चिह्नका लागि भारतमा आवेदन दिए पनि पाएका छैनन्।’ सिमेन्ट र क्लिंकर निर्यातजन्य वस्तु रहेको भन्दै थापाले भारतले गुणस्तर चिह्न दिन ढिलाइ गरिरहेकाले नेपाल सरकारले कूटनीतिक पहल गरेर स्वदेशी उद्योगहरूलाई गुणस्तर चिह्न दिलाउनुपर्नेमा थापाको जोड छ।
सरकारले सिमेन्ट निर्यात बढाउन करिब ८ प्रतिशतसम्म निर्यात अनुदान दिने व्यवस्था गरेको छ। सरकारले निर्यातमा अनुदान प्रदान गर्नेसम्बन्धी (दोस्रो संशोधन) कार्यविधि, २०२२ अनुसार अनुदान दिने बताए पनि हालसम्म कुनै पनि उद्योगले नपाएको थापाको तर्क छ।
नेपालबाट सिमेन्ट र क्लिंकर भारतमा मात्रै निर्यात भइरहेको विभागको तथ्यांक छ। नेपालले यसअघि पनि २०१६/२०१७ मा सिमेन्ट तथा क्लिंकर निर्यात गरेको थियो। तर दुई आर्थिक वर्षपछि त्यसलाई निरन्तरता दिन सकेको थिएन। पछिल्ला तीन आर्थिक वर्षदेखि फेरि सिमेन्ट निर्यात हुन थालेको हो । आर्थिक वर्ष २०१६/२०१७ मा २ लाख १८ हजार रुपैयाँ बराबरको सिमेन्ट निर्यात गरेको थियो। भारतबाटै कच्चापदार्थ ल्याई तयारी सिमेन्ट निर्यात गर्दा लागत महँगो र उद्योग आत्मनिर्भर नहुँदा निकासीले निरन्तरता पाउन नसकेको र अहिले सरकारले सिमेन्ट निर्यातमा अनुदान दिनेलगायत व्यवस्था र उद्योग पनि आत्मनिर्भर भइसकेकाले निर्यात सुरु भएको सरोकारवालाको दाबी छ।
पहिला भारतबाटै कच्चापदार्थ ल्याई तयारी सिमेन्ट पुनः भारत पठाउँदा लागत मूल्य बढेकाले व्यवसायीले निर्यातलाई निरन्तरता दिन सकेका थिएनन्। एक दशकअघि नै सिमेन्ट निर्यात सुरु भए पनि त्यो ‘ट्रायल’ मात्रै रहेको संघका अध्यक्ष थापाले जनाउनुभयो। गत वर्षदेखि औपचारिक रूपमा निर्यात सुरु भएकाले यसपालि ५ अर्बसम्म निर्यात गर्ने लक्ष्य लिए पनि ११ महिनामा साढे ३ अर्बको मात्रै सिमेन्ट र क्लिंकर निर्यात भएको छ। स्रोतका अनुसार सरकारले घोषणा गरेको अनुदानसमेत नपाइएको, निर्यात प्रवर्द्धन गर्न सरकारले केही नगर्दा निर्यात हुन नसकेको व्यवसायीको भनाइ छ।
झन्डै एक दशकअघि पनि आरएमसी सिमेन्टले भारतको सीमावर्ती बजारमा पोर्टल्यान्ड स्ल्याग (पीएससी) सिमेन्ट निर्यात गरेको थियो। २०१७/२०१८ मा ५६ लाख ५९ हजार रुपैयाँ बराबरको ५ लाख ४५ हजार १ सय ५० किलो सिमेन्ट निर्यात भएको थियो। २०१९/२०२o मा ६० हजार २ सय रुपैयाँ बराबरको ५ हजार ५ सय २५ किलो सिमेन्ट मात्र निर्यात भएको विभागको तथ्यांक छ। आर्थिक वर्ष २०२१/२०२२ मा १२ लाख ९३ हजार रुपैयाँ बराबरको १५ हजार १ सय ८९ टन र २०२०/२०२१ मा ८३ हजार रुपैयाँ बराबरको ११ टन सिमेन्ट निर्यात भएको विभागको तथ्यांक छ। देशमा ६५ सिमेन्ट उद्योग छन्। देशमा सिजनमा ७० लाख र अफसिजनमा ३० लाख टन मात्र सिमेन्ट उत्पादन हुने गरेको छ। अफसिजनकै समयमा पनि गत वर्ष २० प्रतिशत क्षमतामा सञ्चालन भएको थियो। सरकारले सहयोग गरेको खण्डमा ५० अर्ब रुपैयाँ बराबरको सिमेन्ट निर्यात गर्न सकिने संघले जनाएको छ।
चालु आर्थिक वर्षका लागि सरकारले ‘स्वदेशी सिमेन्टको आन्तरिक खपत बढाउन पक्की सडक निर्माण गर्दा निश्चित मापदण्डका आधारमा ढलान गर्ने प्रविधि अवलम्बन गरिने’ व्यवस्था अघि सारेको छ।

वातावरण फ्याक्टर र ट्राफिक फ्याक्टरमा ढलान सडक नै उपयुक्त देखिएको खण्डमा त्यसलाई नै प्राथमिकतामा राखेर काम गर्दै आएको सडक विभागका सहप्रवक्ता अमितकुमार शर्माले बताए।
पछिल्लो समय सिमेन्ट निर्यात बढ्दो र आयातसमेत घट्दो क्रममा छ। चालु आर्थिक वर्षको जुलाईदेखि अप्रिलसम्म २६ करोड ५५ लाख ५० हजार रुपैयाँ बराबरको सिमेन्ट र क्लिंकर आयात गरिएको छ। गत आर्थिक वर्ष सो अवधिमा २८ करोड ७२ लाख रुपैयाँ बराबरको सिमेन्ट आयात गरिएको थियो। आर्थिक वर्ष२०१८/२०१९ मा १२ अर्ब ९९ करोड १६ लाख ६४ हजार सिमेन्ट र क्लिंकर आयात भएको विभागको तथ्यांक छ। यसको अर्थ नेपालमा पर्याप्त सिमेन्ट उत्पादन भई निर्यातको ढोका खुला भएको छ।