झापा: नेपालमा बसेको विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए–२१) को तेस्रो परिपूरण बैठकले सन् २०२५ देखि २०२८ सम्म तीन वर्षका लागि गरिब र विकासमा पछि परेका देशहरूका लागि सहयोग रणनीति तथा सहयोगका क्षेत्र निर्धारण गरेको छ।
बैठकले आईडीए देशहरूका लागि तीन वर्षे रणनीतिको खाका तयार पारेको छ। बैठकमा तीन दिनसम्म चलेको प्राविधिक सत्र (बन्दसत्र) मा आईडीए देशहरूको वित्तीय परिदृष्य सम्बन्धमा गहन छलफल भएको थियो।
बन्दसत्रमा आगामी तीन वर्षका लागि गरिब र न्यून आय भएका देशका लागि प्रदान गरिने सहुलियतपूर्ण ऋण तथा अनुदान सहायताका प्राथमिकता क्षेत्र र त्यसको रणनीतिको ढाँचा, आवश्यक वित्तीय स्रोतको प्रतिबद्धता व्यक्त गर्ने सम्बन्धमा दातृपक्ष, सहायता प्राप्त गर्ने देशका प्रतिनिधि र विश्व बैंकका उच्चपदस्थ पदाधिकारीहरूबीच गहन छलफल भएको थियो।
बैठकले विश्व अर्थतन्त्रमा उत्पन्न चुनौती र आईडीए देशहरूका विकासको आकांक्षा सम्बोधन गर्न एतिहासिक रुपले ठूलो आर्थिक प्याकेज जरुरी रहेको निस्कर्ष निकालेको छ।
बैठक व्यवस्थापनका लागि अर्थ मन्त्रालयद्वारा गठित सचिव आयोजक समितिअन्तर्गतको व्यवस्थापन तथा समन्वय समितिसंयोजक एवं मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सह–सचिव श्रीकृष्ण नेपालले गरिब र कम विकसित देशका लागि बैठकका उपलब्धी एतिहासिक हुने बताए। ‘पहिला आईडीएले इन्पुटमा आधारित रणनीतिमा टेकेर काम गरेको थियो,’ उनले भनेका छन्, ‘अब नतिजालाई आउटपुटमा आधारित बनाएर जाने सैद्धान्तिक सहमति भएको छ।’
बैठकले आईडीए देशका जनताका लागि विद्युत र सूचना प्रविधिमा पहुँच तथा अवसरको वातावरण बनाउने प्रारम्भिक रणनीति तय गरेको छ। यसअघि अवसर सिर्जना गर्ने सूचीमा रहेको शिक्षा र स्वास्थ्यमा भने अब गुणस्तर बृद्धिमा जोड दिने रणनीति आईडीएले अघि सारेको उनले जानकारी दिए।
आईडीएले समावेशी विकासको नीतिमा जोड दिँदै लैंगिक विभेद अन्त्य तथा महिलालाई मुलप्रवाहीकरणमा समावेश गर्न थप कार्यक्रम एवं रणनीति बनाउनेछ। महिलालाई मुलप्रवाहीकरणमा समावेश गर्न शैक्षिक र आर्थिक स्तरमा विकास तथा निर्णय प्रक्रियामा सहभागिता बढाउनुपर्ने आईडीएको निस्कर्ष छ। विश्व बैंकको आगामी अक्टोबरमा हुने बैठकमा आईडीएका निस्कर्षहरूबारे थप छलफल हुनेछ भने आगामी मंसिर २५ र २६ गते (डिसेम्बर १०–११) मा दक्षिण कोरियामा हुने आईडीए २१ को अन्तिम बैठकले तीन वर्षे रणनीति कार्यान्वयनमा लैजाने औपचारिक निर्णय गर्नेछ
काठमांडूमा चार दिनसम्म चलेको आईडीए बैठकको गत मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन र अर्थमन्त्री वर्षमान पुनले समापन गरेका थिए। यो बैठक विश्व बैंक समूहले नेपालमा आयोजना गरेको यो हालसम्मकै ठूलो कार्यक्रम रहेको बताइएको छ। बैठकमा सहभागी हुन विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोटसनवर्गसहित आधा दर्जन बढी उपाध्यक्ष र निर्देशकहरू नेपालमा आएका थिए। त्यस्तै ६१ देशका करिब २ सयभन्दा बढी प्रतिनिधि बैठकमा सहभागी थिए।
बैठक व्यवस्थापनका लागि अर्थ मन्त्रालयले सचिव मधुकुमार मरासिनीको नेतृत्वमा आयोजक समिति र मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सह–सचिव श्रीकृष्ण नेपालको संयोजकत्वमा व्यवस्थापन तथा समन्वय समिति गठन गरेको थियो। विश्व बैंकले सन् १९६० मा स्थापना गरेको आईडीए विकास साझेदारहरूको अन्तर्राष्ट्रिय गठबन्धनको अग्रणी निकाय हो।