ब्रीजटाउन (बारबाडोस): आईसीसी टी२० वर्ल्ड कपमा सुपर ८-मा वेष्ट इण्डिजले आफ्नो पहिलो जीत दर्ता गर्नको साथै विध्वंशी मिजासमा ब्याटिंग गर्दै नेट रन रेटमा पनि सुधार गऱ्यो। शनिवार बिहान खेलिएको ग्रुप २-को म्याचमा वेष्ट इण्डिजले अमेरिकालाई सजिलैसँग ९ विकेटले पराजित गऱ्यो। म्याचमा टस हारेर पहिला ब्याटिंग गर्दै अमेरिकी टीम १९.५ ओभरमा १२८ रन बनाएर अलआउट भयो। जवाफमा वेष्ट इण्डिजले आफ्नो नेट रन रेटमा सुधार गर्ने लक्ष्यको साथ खेल्दै १०.५ ओभरमै १३० रन बनाएर म्याच जित्यो अनि यस अवधि टीमले केवल १ विकेट गुमायो। यस जीतपछि वेष्ट इण्डिज २ पोइण्ट्सको साथ असल नेट रन रेटको आधारमा ईंग्ल्याण्डभन्दा माथि दोस्रो स्थानमा रहन पुग्यो जबकि अमेरिका दुवै म्याच हारेर चौथो स्थानमा रहेको छ। वेष्ट इण्डिजको तर्फबाट ओपनर साई होपले सर्वाधिक अविजित ८२ रन बनाए। उनले ३९ बल खेलेर ४ वटा चौका र ८ वटा छक्का लगाए। होपले जनसन चार्ल्ससँग पहिलो विकेटको निम्ति ४२ बलमा ६७ रनको पार्टनरशीप गरे। चार्ल्स १५ रन बनाएर आउट भएपछि होपले फर्ममा रहने निकोलस पूरनसँग मिलेर दोस्रो विकेटको निम्ति केवल २३ बलमा ६३ रनको अटूट पार्टनरशीप गरी टीमलाई सजिलै जीत दिलाए। पूरनले १२ बल खेलेर ३ वटा छक्का र एउटा चौकाको साथ अविजित २७ रन बनाए। यसअघि म्याचमा पहिला ब्याटिंग गर्ने अमेरिकी टीमबाट कसैले पनि ३० रनको आँकड़ालाई छुन सकेनन्। वेष्ट इण्डिजका बलरहरूले कसिलो लाइन र लेन्थमा बलिंग गरी अमेरिकी ब्याटरहरूलाई चेपारोमा पारे। एण्ड्रिएस गौसले सर्वाधिक २९ रन बनाए। उनले १६ बल खेलेर ३ वटा चौका र एउटा छक्का लगाए। यसबाहेक नितिश कुमारले २०, मिलिन्द कुमारले १९ र शाडले वान शाल्कविकले १८ रनको योगदान दिए। वेष्ट इण्डिजका बलरहरूमा आन्द्रे रसेल र रोस्टन चेसले ३-३ विकेट लिए। यसबाहेक अल्जारी जोसेफले पनि २ विकेट हासिल गरे। रोस्टन चेसलाई प्लेयर अव् द म्याच चयन गरियो।