सिलगढी: प्रधाननगर पुलिस थानाले फेरि एक पटक ठूलो सफलता हात पारेको छ। पुलिसले लुटपाटको योजना विफल पार्दै ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा प्रणय मण्डल (२८), राकेश मण्डल (२४) र असिम सरकार (३२) रहेका छन्। सबै सिलगढीको समरनगर क्षेत्रका बासिन्दा रहेको बताइएको छ। बघाजतिन कालोनीको पार्वतीघाट क्षेत्रमा राति अबेरसम्म केही शंकाजनक व्यक्तिहरू जम्मा भएको जानकारी पुलिसलाई प्राप्त भएको थियो। यसबारे जानकारी पाएलगत्तै प्रधाननगर पुलिस चौकीले छापा मारेर तीन जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरुको साथबाट धारिलो हतियार बरामद भएको छ। पुलिस स्रोतका अनुसार अभियुक्तहरु लुटपाटको योजना बनाउन भेला भएका थिए। आज ३ जना अभियुक्तलाई सिलगढी अदालतमा पेश गरिएको छ। पुलिसले सम्पूर्ण विषयमा अनुसन्धान गरिरहेको छ।