खरसाङ: क्रीड़ा भारती खरसाङ दार्जिलिङको आयोजनामा अन्तर्राष्ट्रीय योगा दिवस पालन गरिएको छ। खरसाङको नयाँ बजारस्थित मोर्डन अंग्रेजी स्कूलको प्रांगनमा सम्पन्न अन्तर्राष्ट्रीय योगा दिवसमा उदबोधन क्रिडा भारतीय खरसाङको संयोजक दिव्यत्तम अधिकारीले सञ्चालन र उदबोधन गरेका थिए। कार्यक्रममा योगा कार्यक्रमको लागि पताञ्जली योग पीठसित संलग्न इरिन अवतार सिंह विशेष रूपमा उपस्थित थिए। उनले यस अवसरमा योगको विस्तारित ढंगमा व्याख्यासितै योग अभ्यास गराएका थिए। यसको साथै विशिष्ट अतिथिको रूपमा मोर्डन अंग्रेजी स्कूलको निर्देशक अश्विनी अग्रवाल विशिष्ट अतिथिको रूपमा उपस्थित रहेका थिए। यस कार्यक्रममा मोर्डन अंग्रेजी स्कूलको विद्यार्थीहरू लगायत सन्त अल्फन्सेस, पुष्परानी उच्चत्तर माध्यमिक विद्यालय, रामकृष्ण कन्या उच्चत्तर माध्यमिक विद्यालय लगायत वरिपरिका विद्यालयका विद्यार्थीहरू उपस्थित रहेका थिए। कार्यक्रममा मुख्य सम्भाषण राख्दै अन्तरार्ष्ट्रीय नेपाली संस्कृति परिषदका कार्यकारी अध्यक्ष एंव क्रिडा भारती खरसाङ दार्जिलिङको सल्लाहकार अशोक चौरासियाले योगा भारतको प्राचीन आयुर्विज्ञान हो जसले व्यक्तिको मन, शरीर, बुध्दि र आत्मालाई जोड़ेर एउटा असल संयमशील अनि प्रसन्नजीत भएको व्यक्तिको विकास गर्दछ भनी बताएका छन्।

उनले योगाले कुनै पनि देश, धर्म, मत पन्तदेखि माथि उठेर व्यक्तिको शारीरिक स्वास्थ्य, दीर्घायु, व्यक्तिको मन र बुध्दि शुध्द बनाउँदै व्यक्तिको जीवनलाई सुखी र समृध्द बनाउँछ भनी बताएका छन्। चौरासियाले योगाले विश्वशान्ति, पर्यावरण, सुरक्षा, मानव कल्याण, एकता, भाइचारा, प्रेम र सौहार्दको विकास गर्दछ भनी बताएका छन्। कार्यक्रममा क्रीडा भारती खरसाङको संयोजकद्वय दिव्यत्तम अधिकारी र सपन प्रधानले क्रमैले स्वागत सम्भाषण र धन्यवाद ज्ञापन गरेका थिए।