झापा: भौतिक विकास र संरचना सुधार गर्दै नगरउन्मुख गाउँपालिकाको रुपमा आफूलाई विकास गरिरहेको सुनसरीको कोशी गाउँपालिकाले पालिकामा फोहोर व्यवस्थापनका लागि समेत अभियान अगाडि बढाएको छ। पालिकाको मुख्य बजारको रुपमा रहेको लौकही, जमुवा चौक, नहर चौक, भाण्टावारी र कोशी ब्यारेज क्षेत्रमा संकलन हुने फोहोरको उचित व्यवस्थापनको व्यवस्था नहुँदा स्थानीयहरुले फोहोरजन्य समस्या झेल्दै आउनु परेको स्थितिलाई मध्यनजर गर्दै पालिकाले पहिलो चरणमा आफ्नो क्षेत्रमा रहेका बजार क्षेत्रको फोहोर व्यवस्थापनको लागि पहल अगाडि बढाएको हो।
गाउँपालिकाका अध्यक्ष ऐयूब अन्सारीले नगर उन्मुख रहेको पालिकामा विस्तारै फोहोर व्यवस्थापन र डम्पिङ साइटको समेत आवश्यकता बोध हुन थालेको भन्दै पहिलो चरणमा पालिकाको बजार क्षेत्रको फोहोरको व्यवस्थापन गर्ने गरी काम अगाडि बढाएको बताए। यसक्रममा पालिकाले बुधबार भाण्टावारी र कोशी ब्यारेज क्षेत्रको फोहोर व्यवस्थापनको लागि ईलोडर खरिद गरेर वार्ड नम्बर ८ कार्यालयलाई हस्तान्तरण गरेको छ। पालिकाले झण्डै साढे चार लाख रुपियाँको लागतमा खरिद गरेको ईलोडर सवारीसाधन वार्डका अध्यक्ष बलराम थापाले एक कार्यक्रमका बिच हस्तान्तरण गरेको छ। अध्यक्ष अन्सारीले पहिलो चरणमा वार्ड नम्बर १, २ र ३ को फोहोर ब्यवस्थापन गर्ने गरी पालिकाले ट्याक्टर खरिद गरेर काम गरिरहेको जानकारी दिँदै यस वर्ष वार्ड नम्बर ८ को लागि फोहोर व्यवस्थापनका लागि सवारी साधन उपलब्ध गराएको र आगामि वर्ष आवश्यकताको आधारमा अन्य वार्डलाई समेत यस्तै प्रदूषणरहित सवारीसाधनहरु उपलब्ध गराउने योजना रहेको बताए। प्रमुख प्रशासकीय अधिकृत दामोदर दाहालले कोशी गाउँपालिका क्षेत्रमा नयाँ नयाँ बजारको विकास भएसँगै फोहोर व्यवस्थापनको समस्या पनि देखिन थालेकोले पालिकाले त्यसको लागि आवश्यकताको आधारमा फोहोर बोक्ने सवारीसाधन खरिद गरेर वडामार्फत फोहोर व्यवस्थापनको काम अगाडि बढाउने नीतिअनुसार काम थालेको जानकारी दिए। उनले आवश्यकताको आधारमा यो नीतिलाई आगामी वर्षको बजेटहरुमा पनि कार्यक्रमकै रुपमा अगाडि बढाउने गरी तयारी भइरहेको बताए।